
कपिलवस्तु, ३ साउन । अर्घाखाँचीको शितगंगा नगरपालिका–१२ स्थित डोहोटे क्षेत्रमा नेटवर्क अवरुद्ध हुँदा समस्या सिर्जना भएको छ । नेटवर्क समस्याले त्यहाँ आपतकालीन सेवामा समेत असर गरेको हो । डोहोटे क्षेत्रका स्थानीयवासी तथा सुरक्षाकर्मीहरूले निकै सास्ती खेप्नु परेको छ।
डोहोटेमा अस्थायी रूपमा स्थापना गरिएको प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी एम महतका अनुसार, नमस्ते वा एनसेल दुवै नेटवर्कमा समस्या आएपछि समस्या आएको हो ।
उनका अनुसार पटक–पटक सम्बन्धित सेवा प्रदायकलाई जानकारी गराउँदा पनि समस्याको समाधान नभएको बताए । उनले कतै दुर्घटना वा अन्य आपतकालीन अवस्था आएमा उद्धार कार्यमा ढिलाइ हुने बताए ।
स्थानीयवासीले सामान्य फोन गर्नसमेत डाँडामा चढ्नुपर्ने बाध्यता रहेको बताउँदै नेटवर्क समस्या तत्काल समाधान गरिनु पर्ने माग गरेका छन् ।
संवेदनशील क्षेत्र मानिने सो स्थानमा अस्थायी प्रहरी चौकी रहेको र चेकजाँच तथा सुरक्षाका लागि नेटवर्क सेवा अत्यावश्यक भएकाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सेवा सहज बनाइदिन स्थानीयवासी तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् ।