
कपिलवस्तु, ०७ साउन।
गत आर्थिक वर्ष २०८१/८२ मा कपिलवस्तुमा २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द भएका छन् । चल्न नसकेको, घाटा बढेको, र नवीकरण नगरेका कारण ती उद्योग र फर्म बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले जानकारी दिए ।
यही अवधिमा ३३३ साना उद्योग र ३७४ व्यवसायिक फर्म नयाँ दर्ता पनि भएका छन् । खनालका अनुसार, नयाँ दर्ता संख्या बन्द भएका भन्दा ३०५ ले बढी छ । कोभिडपछिको आर्थिक असहजताले उद्योग सञ्चालन गर्न समस्या परेको र लगातार घाटाले व्यवसायीहरू व्यवसाय बन्द गर्न बाध्य भएको बताइन्छ ।
विदेश पलायनको बढ्दो दरले पनि उद्योग र व्यापारमा असर परेको छ । बन्द हुने उद्योगहरू उत्पादन, कृषि, वन, सेवा र पर्यटनसँग सम्बन्धित छन् भने फर्महरू किराना, हार्डवेयर, कस्मेटिक, कपडा, मदिरा, इमोबाइलजस्ता क्षेत्रका रहेका छन् ।
कपिलवस्तु उद्योग वाणिज्य व्यापार संघका अध्यक्ष गणेश क्षेत्री, उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल र तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले उद्योगी व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परिरहेको र सरकारले तदारुकता नदेखाएको बताए । व्यवसायीहरू सरकारी सहयोग अभावमा विदेश जान बाध्य भइरहेका छन् ।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मियाले पनि सरकारको गम्भीर पहल नभए देशभर नै साना उद्योग र व्यापार बन्द हुने अवस्था आउने चेतावनी दिएका छन् ।