लायन्स क्लव अफ कपिलवस्तु स्टारद्वारा वृक्षारोपण : वातावरण संरक्षणको सन्देश


पालिका पत्र

११ श्रावण २०८२, शनिबार १९:३९ मा प्रकाशित

बाणगंगा, साउन १० ।
लायन्स क्लव अफ कपिलवस्तु स्टार, लायन्स क्लव अफ कपिलवस्तु, लायन्स क्लव अफ दिदीबहिनी तथा लियो क्लव अफ कपिलवस्तुले संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । बाणगंगा नगरपालिका–७ स्थित खारखानीमा शनिबार वृक्षारोपण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ७ का वडा अध्यक्ष बिण्णु गिरीले युवाहरूको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाउँदै यस्तो अभियानले वातावरण संरक्षणको चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वृक्षारोपण जस्ता सकारात्मक कार्यहरूले समाजमा हरित सन्देश प्रवाह गर्दै भावी पुस्तालाई स्वच्छ र हरित भविष्यको जग हाल्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी, सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले वातावरणीय सन्तुलन कायम राख्न वृक्षारोपण अत्यावश्यक रहेको बताउनुभयो । उहाँले वन क्षेत्रको संरक्षणमा नागरिकस्तरको सहभागिता अझै बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमहरूले सामूहिक उत्तरदायित्वको भावना थप मजबुत बनाउने धारणा राख्नुभयो ।

कार्यक्रमका संयोजक लायन मोहन न्यौपानेले वृक्षारोपणको उद्देश्य, प्रक्रिया र दीर्घकालीन महत्त्वबारे प्रकाश पार्दै कार्यक्रम सफल बनाउन साथ र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन मन्तव्य दिंदै लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष लायन नारायण पौडेलले सहभागिता जनाउने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिँदै वातावरण संरक्षणका यस्ता अभियानहरू निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु स्टारका अध्यक्ष लायन सागर पोख्रेल, लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष लायन नारायण पौडेल, लायन्स क्लव अफ दिदीबहिनीका अध्यक्ष तथा लियो क्लव अफ कपिलवस्तुका अध्यक्षको संयुक्त अध्यक्षता रहेको थियो ।
कार्यक्रमको स्वागत लायन्स क्लव अफ कपिलवस्तुका प्रथम उपाध्यक्ष लायन सुमन क्षेत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिव लायन सन्दीप भट्टराईले गर्नुभएको थियो ।

वृक्षारोपण कार्यक्रममा लायन्स तथा लियो क्लबका करिब ६० जना सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमले वातावरणप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सामूहिक प्रयासबाट हरियाली प्रवर्द्धन गर्न सकिने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्