
कपिलवस्तु, साउन १२ ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग पूरा गराउन भन्दै लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तथा ग्राहक सेवा निर्देशनालय परिसरमा धर्ना दिइएको हो ।
दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालामा रूपान्तरण गर्न माग गर्दै आन्दोलन चर्काइएको हो । उनीहरूले २०७९ सालमा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पारित गरेको निर्णय कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेका छन् ।
प्रदेशस्तरीय आन्दोलन अन्तर्गत आज (साउन १२) र भोलि (साउन १३) दुई दिन धर्ना दिइने र माग सम्बोधन नभए अर्को चरणमा आन्दोलन केन्द्रीय समितिको आह्वानमा काठमाडौं केन्द्रित हुने जानकारी दिएको छ।
नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी मजदुर संघ लुम्बिनी प्रदेशका अध्यक्ष खडानन्द गिरीको नेतृत्वमा धर्ना कार्यक्रम संचालन गरिएको हो ।
संघका अनुसार कर्मचारीहरूले वर्षौंदेखि सेवामा रहे पनि न्यूनतम सुविधा समेत नपाएको गुनासो गर्दै आएका छन् । उनीहरूले अब ढिला नगरी निर्णय कार्यान्वयन गर्न सरकार र प्राधिकरणको नेतृत्वसँग आग्रह गरेका छन् । संघले आन्दोलन अझ सशक्त बनाउने चेतावनी समेत दिएको छ।