बाणगंगा नगरपालिका ‘जंक फुड’ मुक्त नगर बनाउने अभियानमा


पालिका पत्र

१३ श्रावण २०८२, सोमबार २१:१५ मा प्रकाशित

कपिलवस्तु, साउन १२ –
कपिलवस्तुको बाणगंगा नगरपालिका ‘जंक फुड’ (पत्रु खाना) रहित नगर निर्माणको लक्ष्यसहित अभियानमा जुटेको छ । अभियानलाई सार्थकता दिन नगरपालिकाले सोमबार नगरस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

स्वास्थ्यलाई केन्द्रमा राख्दै नगरपालिकाले पहिलो चरणमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममार्फत विद्यालयभित्र जंक फुड निषेध गर्दै विद्यार्थीलाई सुरक्षित, पोषणयुक्त भोजनमा जोड दिन खोजिएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलका अनुसार, बाणगंगा नगरपालिका देशमै पहिलोपटक विद्यालयलाई पत्रु खाना मुक्त बनाउने अभियानमा अगाडि बढेको पालिका हो । उनले भने, “जंक फुडले बालबालिकाको शारीरिक र मानसिक विकासमा नकारात्मक असर पार्ने भएकाले यसलाई नियन्त्रण गर्न नगरपालिका गम्भीर छ ।”

नगर प्रमुख चक्रपाणी अर्यालले बाणगंगालाई ‘पोषणमैत्री नगरपालिका’ घोषणा गर्ने दिशामा काम भइरहेको बताए । “विद्यालयमा पत्रु खाना निषेध गरेर मात्रै सुरक्षित बालबालिकाको निर्माण सम्भव छ,” उनले भने। सामाजिक विकासमा नगरको लगानी बढाउँदै लगिएको उल्लेख गर्दै उनले ‘एक घर, एक धारा’ अभियान अन्तर्गत सयभन्दा बढी घरधुरीमा निःशुल्क धारा जडान गरिएको जानकारी दिए । वडा नं. ३ मा नगरको लगानीमा ३४ वटा शौचालय निर्माण गरिएको पनि उनले बताए ।

हालसम्म करिब १४ हजार घरधुरीमा खानेपानीको धारा पुर्याइएको र सबै नगरवासीलाई सुरक्षित खानेपानीको पहुँचमा ल्याउने लक्ष्य रहेको उनले स्पष्ट पारे ।

उपप्रमुख रिता कुमारी चौधरीले विकासलाई भौतिक पूर्वाधारमै सीमित नराखी सामाजिक क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । उनले विद्यालय अनुगमनको क्रममा विद्यार्थीहरू पत्रु खाना सेवन गरेको र शौचालयमा सुर्तीजन्य पदार्थ भेटिएको जानकारी दिँदै विद्यालय वरपर १०० मिटरभित्र पत्रु खाना तथा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा प्रतिबन्ध लगाउनुपर्ने बताइन् । यसका लागि सूचना जारी गर्दै अनुगमनलाई तीव्र पारिने उनले स्पष्ट पारिन्। उनले विद्यालय पोसाकमा रहेका बालबालिकालाई यस्तो वस्तु नबेच्न पसलहरुलाई आग्रह समेत गरिन् ।

“विकसित मुलुकले विगत ५०–६० वर्षदेखि बालबालिकामाथि लगानी गर्दै आएको कारण आजको समृद्धि सम्भव भएको हो,” उपप्रमुख चौधरीले भनिन्, “बाणगंगामा पनि अब बालमैत्री र पोषणयुक्त समाज निर्माणका लागि निरन्तर लगानी हुँदै जानेछ ।”

सामाजिक विकास समितिका संयोजक विष्णु गिरीले अभियानलाई सफल बनाउन विद्यालय प्रमुख र शिक्षकको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। उनले प्रत्येक विद्यालयमा प्रार्थना समयमा पत्रु खाना खाँदाको बेफाइदा र नखाँदाको फाइदाका विषयमा जानकारी दिने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

कार्यक्रमको सञ्चालन भक्तिराम पाण्डेले गरेका थिए भने स्वास्थ्य शाखा प्रमुख पौडेलले विद्यालयमा जंक फुडको वर्तमान अवस्था, नियन्त्रणका उपाय र आगामी रणनीतिका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्