धान संकटमा कोदो विकल्प, प्राङ्गारिक र रासायनिक मलको तुलना


पालिका पत्र

१४ श्रावण २०८२, मंगलवार २०:३६ मा प्रकाशित

बाणगंगा, १३ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–८, मधुवनमा धानको विकल्पको रूपमा कोदो खेतीको परीक्षण सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण परम्परागत धान खेतीमा देखिएको संकटलाई मध्यनजर गर्दै वैकल्पिक अन्न बालीको रूपमा कोदोको परीक्षण थालिएको हो । सुख्खा मौसम र वर्षाको अभावले धान खेती असहज हुँदै गएको सन्दर्भमा स्थानीय स्तरमा ११ प्रजातिका कोदो परीक्षण गरिएको हो । मधुवनमा २ कठ्ठा क्षेत्रफलमा १०/१० मिटरको अन्तरालमा कोदो रोपिएको छ ।

कृषि अनुसन्धानविद् डा. मुकुन्द भट्टराईले केही दिन मात्र पानी नपर्दा धान बाली सुख्खा हुन थाले पनि, संगै रोपिएको कोदो बाली राम्रो हुँदै गएको देखिएको बताए । उनले कोदो सुक्खा तथा पानी दुवै अवस्थामा सहन सक्ने गुण भएकाले राम्रो विकल्प हुन सक्ने बताए । “कोदोका केही प्रजातिहरूले सामान्य वर्षा मात्र भए पनि उत्पादन दिन सक्छन्, जुन सन्दर्भमा यसले कृषकलाई जलवायु प्रतिरोधी विकल्प दिन सक्छ,” उनले भने ।


कोदो खेतीलाई अझ वैज्ञानिक रुपमा परीक्षण गर्न खेत दुई भागमा विभाजन गरिएको छ। एक भागमा गडौला रहेको प्राङ्गारिक मल प्रयोग गरिएको छ भने अर्को भागमा रासायनिक मल (युरिया) प्रयोग गरिएको छ। यसरी गरिएको परीक्षणले उत्पादनमा देखिने भिन्नताका आधारमा युरिया मलको विकल्पमा प्राङ्गारिक मल प्रयोग गर्न सकिने सम्भावना समेत अध्ययन गरिँदैछ ।


कृषि आनुवांशिक स्रोत केन्द्र, खुमलटार ललितपुरको समन्वयमा तथा एफ.ए.ओ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालित गरिएको हो । यसअघि नेपालगञ्जमा सफल परीक्षण गरिसकेका डा. भट्टराईले कपिलवस्तुमा समेत कोदो खेतीले राम्रो परिणाम दिने बताएका छन् ।


उनले कोदोको उत्पादनले स्थानीय खाद्य सुरक्षामा योगदान पुर्याउनुका साथै सस्तो, पोषिलो र सजिलो उत्पादनका हिसाबले ग्रामीण जीवनशैलीमै आधारित कृषि प्रणालीलाई बल पुग्ने बताए । बाणगंगा नगरपालिकाका कृषकहरू पनि यो प्रयासप्रति उत्साहित देखिएका छन् । उनीहरूले परीक्षण सफल भएमा कोदो खेतीलाई आफ्ना खेतमा विस्तार गर्ने योजना रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्