कपिलवस्तुमा धान बाली संकटः सुख्खाग्रस्त घोषणा गर्न माग


पालिका पत्र

१४ श्रावण २०८२, मंगलवार २०:४९ मा प्रकाशित

कपिलवस्तु, साउन १३ — लामो समयदेखिको वर्षा अभावका कारण कपिलवस्तु जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरिएको छ। मङ्गलबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सरोकारवालाहरूले जिल्लाभरिका किसानले धान रोप्न नपाएको र रोपिएको बाली पनि सुक्दै गएको कारण तत्काल राहत प्याकेजसहित जिल्लालाई सुख्खाग्रस्त घोषणा गर्न माग गरेका हुन् ।

कृषि ज्ञान केन्द्र कपिलवस्तुका बाली संरक्षण अधिकृत सत्यराम हरिजनले जिल्लामा हालसम्म करिब ९० प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णनगर र महाराजगञ्ज नगरपालिकामा सिंचाइको सुविधा नहुँदा रोपाइँ हुन सकेको छैन । पहिले रोपिएको धान पनि सिंचाइको अभावले सुक्दै गएकाले २५ देखि ३० प्रतिशत धानबालीमा ह्रास आउने प्रक्षेपण गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिलकुमार तामाङले प्राप्त विवरण र सरोकारवाला निकायहरूको सिफारिसका आधारमा कपिलवस्तुलाई सुख्खाका कारण विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्ने जानकारी दिनुभयो । साथै, बाँकी रहेका क्षेत्रहरूमा रोपाइँगर्न र रोपाइँ भइसकेका क्षेत्रमा सिंचाइ सुनिश्चित गर्न स्थानीय तह, सिंचाइ कार्यालय, कृषि ज्ञान केन्द्र लगायत सम्बन्धित निकायहरूसँग समन्वय गर्ने निर्णय गरिएको छ ।

बैठकले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८२ को मस्यौदा १० दिनभित्र तयार पार्ने निर्णयसमेत गरेको छ । उक्त मस्यौदा कार्यदलबाट तयार पारेर समिति र सरोकारवाला निकायहरूसँग छलफल गरी प्रमाणित गरिने जनाइएको छ ।

बैठकमा सहभागी सरोकारवालाहरूले मल–खादको अभावले किसान थप मर्कामा परेको भन्दै यसको सहज उपलब्धता सुनिश्चित गरिदिन आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा सम्पन्न बैठकमा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, बुद्धभूमिका केशव कुमार श्रेष्ठ, कपिलवस्तुका सुदीप पौडेल, महाराजगञ्जका अब्दुल कलाम, कृष्णनगरका रजत प्रताप शाह, जिससका जर्नादन अधिकारी, प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट, सशस्त्र प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र सञ्चारकर्मीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्