
कपिलवस्तु, साउन १७ ।
संगीतकर्मी फ्रोजन थापाको नवीन सिर्जना ‘कल्पना’ म्युजिक भिडियो शनिवार सार्वजनिक गरिएको छ । कपिलवस्तुको चार नम्बरमा अवस्थित ओएसिस सिनेमा हलमा आयोजित एक विशेष कार्यक्रममा भिडियोलाई पहिलोपटक सार्वजनिक गरिएको हो ।
भिडियोमा रोजगारीको सिलसिलामा घरपरिवारबाट टाढिनु परेको युवाको भावना, उनी भोगिरहेको एक्लोपन, र आफन्तसँगको सम्बन्धलाई कल्पनाको माध्यमबाट प्रस्तुत गरिएको छ । शब्द, संगीत तथा अभिनय आफैं गरेका फ्रोजन थापाले भिडियोमार्फत कल्पनाको प्रेम र पारिवारिक दूरीको पीडालाई भावुक ढंगले उतारेका छन् ।
भिडियोमा थापासँगै रिजा गुरुङ, विजय सारु मगर र अम्सु अर्यालको अभिनय देख्न सकिन्छ। कथा तथा दृश्यहरूले दर्शकलाई आफ्नै जीवनको केही अंश सम्झाउने खालको यथार्थ झल्काउँछ । दर्शकहरूले म्युजिक भिडियोमा भावनात्मक गहिराइ, सजिव अभिनय, र सजिलो सम्प्रेषण रहेको प्रतिक्रिया दिएका छन् ।
भिडियो कपिलवस्तुकै फोटो रेक ईभेन्टको निर्माण तथा सम्पादनमा तयार पारिएको हो। सामुदायिक रेडियो मायादेवी, पालिका पत्र डटकम र बुद्धआवाज टेलिभिजन मिडिया पार्टनरको रूपमा रहेका छन् ।
फोटो रेक ईभेन्टका सञ्चालक रे मगरका अनुसार, भिडियोमा स्थानीय पर्यटकीय स्थलहरू पनि समेटिएको छ । अब यस्ता गुणस्तरीय भिडियो निर्माणका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्दै गएको उनको भनाइ छ ।
‘कल्पना’ म्युजिक भिडियोले एकातिर प्रेम र परिवारबीचको दूरीलाई कलात्मक ढंगले चित्रण गर्छ भने अर्कोतर्फ स्थानीय प्रतिभा र सम्भावनाको उजागर पनि गर्दछ ।
पुरा भिडियोः