
बाणगंगा, १९ साउन । कपिलवस्तु उद्योग व्यापार संघले जिल्लामै पहिलोपटक राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा कृषि, पर्यटन र व्यापार मेला आयोजना गर्ने घोषणा गरेको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै आउँदो मंसिर ५ गतेदेखि १७ गतेसम्म बाणगंगा नगरपालिका–४ स्थित बुद्धरंगशालामा मेला आयोजना हुने जानकारी गराएको हो ।
संघका अध्यक्ष खिमानन्द पौडेल ‘कोपिल’ ले मेलाको उद्देश्य, पूर्वतयारी र सम्भावनाबारे प्रष्ट पार्दै मेलाले जिल्लाको आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने बताए ।
उनले २०८० सालमा विभिन्न संघसंस्थाबीच भएको सहमति अनुरूप नै मेला सञ्चालन गरिने बताउँदै यो महोत्सव स्थानीय उत्पादन, पहिचान र अवसरलाई राष्ट्रिय स्तरमा उजागर गर्ने प्लेटफर्म हुने धारणा राखे। देशभरका उद्यमी, व्यवसायी, कृषक, नवप्रवर्तनकर्ताहरूको सहभागिता रहने र ३५ उपसमिति गठनमार्फत तयारी तीव्र पारिएको जानकारी पनि उनले दिए ।
संघका संरक्षक टोप नारायण बेल्वासेले स्वदेशी उत्पादन प्रवर्द्धन र नवप्रवर्तनमा मेलाले भूमिका खेल्ने विश्वास व्यक्त गरे । पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले सञ्चारमाध्यम र समुदायबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा संघका प्रदेश उपाध्यक्ष गिरीराज पौडेल, सदस्यहरू, सल्लाहकारहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । पत्रकार भेटघाट कार्यक्रम लेखा समिति संयोजक विष्णु सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।