कपिलवस्तु जिल्ला वन कार्यालय र मायादेवी साझेदारी वनलाई राष्ट्रिय सम्मान


पालिका पत्र

२७ श्रावण २०८२, सोमबार २०:५३ मा प्रकाशित

कपिलवस्तु जिल्ला वन संरक्षण, संवर्धन, दिगो उपयोग र वातावरणीय सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै जिल्ला वन कार्यालय, तौलिहवा र मायादेवी साझेदारी वन राष्ट्रिय स्तरमा सम्मानित भएका छन् ।

काठमाडौंमा आज सम्पन्न सामुदायिक वन दिवस तथा सम्मान कार्यक्रम मा वन तथा भू–संरक्षण विभागले जिल्ला वन कार्यालयलाई उत्कृष्ट कार्य सम्पादनको उच्च मूल्यांकन गर्दै सम्मानपत्र प्रदान गरेको हो । कार्यालयले वन क्षेत्रको संरक्षण, व्यवस्थापन र वातावरणीय सुधारका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको ठहर गरिएको छ ।

त्यसैगरी, मायादेवी साझेदारी वनले “साझेदारी वन राष्ट्रिय पुरस्कार” मा तृतीय स्थान हासिल गर्दै रु २५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । यस समूहले जैविक विविधताको संरक्षण, वृक्षारोपण र सामुदायिक सहभागितामार्फत दिगो वन व्यवस्थापनमा निरन्तर योगदान दिँदै आएको छ ।

यी सम्मानहरूले कपिलवस्तु जिल्लामा वन संरक्षण र वातावरणीय सुधारमा संलग्न कर्मचारी तथा समुदायलाई थप उत्साह र प्रेरणा मिल्ने अपेक्षा गरिएको छ । सम्मान ग्रहणपछि अध्यक्ष दिनेश जैशवालले भविष्यमा अझ योजनाबद्ध रूपमा वन विकासका कार्यलाई विस्तार गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्