
कपिलवस्तु, २७ साउन ।
जुवातास काण्डमा पटक–पटक मुछिँदै आएका कपिलवस्तु नगरपालिका–२ का वडाध्यक्ष फेरि अर्को विवादमा मुछिएका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष अशोक गुप्ताले बैंकमा रहेको यसअघि निधन भइसकेका एक व्यक्तिको एक करोडभन्दा बढी रुपैयाँ कुम्ल्याउने खेलमा किर्ते सिफारिश गरेको आरोप छ ।
कपिलवस्तु नगरपालिका–२, जमुवारटोल बस्ने हजारीलाल कान्दूको मृत्युपछि, राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम कुम्ल्याउन खोज्ने गिरोहसँग मिलेर वडाध्यक्ष गुप्ताले भारतीय नागरिकलाई कान्दूको छोरीका रूपमा सिफारिस गरेका हुन् ।
निःसन्तान हजारीलाल कान्दू र उनकी पत्नी चन्द्रावती कान्दूनीको छोरी भनेर, वडाध्यक्ष गुप्ताले भारतको सिद्धार्थनगर घर भएकी पुष्पा कान्दूलाई सिफारिस गरेको देखिन्छ । वडाले असार १२ गते राष्ट्रिय वाणिज्य बैंकलाई सम्बोधन गर्दै मृतक दम्पतीकी छोरी पुष्पा कान्दू भएको प्रमाणित गर्दै पत्र पठाएको थियो । तर वडाको सिफारिससँग पुष्पा कान्दू छोरी भएको प्रमाणित गर्ने कागजातको रुपमा कुनै प्रमाण पेश नगरिएको बताइन्छ । जन्मदर्ता वा शैक्षिक प्रमाणपत्र पेश नगरी कैफियतमा उनको भारतमा विवाह भएको व्यहोरा मात्रै उल्लेख गरिएको थियो ।
जमुवारटोलका कुनै समयका धनाढ्य व्यापारी हजारीलालको मृत्यु जेठ २६ गते भएको हो । उनकी पत्नी चन्द्रावती लामो समयदेखि मानसिक रोगको उपचारमा रहेको बताइन्छ । बैंकको एउटा बचत र ३ वटा मुद्धती खातामा गरेर एक करोड १६ लाखभन्दा बढी रकम रहेको बुझिएको छ । श्रीमान् बितेको र श्रीमती बिरामी भएपछि किर्ते वारिस खडा गरी रकम झिक्न स्थानीय गिरोहले सम्पूर्ण कागजात तयार पारेर बैंकमा बुझाइसकेको थियो ।
सो विवरणको अनुसन्धानका क्रममा कान्दूको घर पुगेका बैंक टोलीले वडाले छोरीका रूपमा सिफारिस गरेकी महिला वास्तविक छोरी नभएको र अरू कुनै वैधानिक वारिस नभेटिएको पाएपछि सशंकित भएको थियो । राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक विजय पाण्डे भन्छन्, ‘वडाले नक्कली छोरी बनाएर बैंकमा सिफारिश गरेको देख्दा छक्क परेँ ।’ त्यसपछि बैंक खाताको रकम ट्रान्सफर गर्ने प्रक्रिया तत्काल रोकिएको छ ।
सो विषयमा वडा नम्बर २ का अध्यक्ष गुप्ताले निवेदकले नै ‘मेरो छोरी हो’ भन्दै सिफारिस मागेकाले दिएको दाबी गरे । तर छोरीको नाता खुल्ने कुनै प्रमाण नभएको अवस्थामा किन सिफारिस गरिएको ? भन्ने प्रश्नमा उनी स्पष्ट हुन सकेनन् । नाता नखुलेमा वडाबाटै छानबिन गर्ने वा प्रहरी सर्जमिन गर्ने सम्भावना हुँदाहुँदै हतारमा सिफारिस दिनुले उनी पनि आर्थिक प्रलोभनमा परेको हुनसक्ने धेरैको अनुमान छ । जनआस्थाबाट