नदीजन्य पदार्थ तस्करी गर्ने तीन ट्याक्टर नगर प्रहरीको नियन्त्रणमा


पालिका पत्र

१ भाद्र २०८२, आईतवार २१:३२ मा प्रकाशित

बाणगंगा, ०१ भदौ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा तस्करी गर्ने ट्याक्टरहरुमाथि कडाइ गरेको छ । यही अभियानअन्तर्गत विहीबार र शुक्रबार दुई दिनमै तीनवटा ट्याक्टर नियन्त्रणमा लिइएका छन् ।

नगरपालिकाको राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार, बाणगंगा नगरपालिका क्षेत्रबाट लु ४ त ९९६६ नम्बरको ट्याक्टर र वडा नं. ७ कोईली वनगाईस्थित चौरी गाउँ क्षेत्रबाट लु ५ त २४३ र लु ५ त १९ नम्बरका दुईवटा ट्याक्टर नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी हवल्दार बाबुराम मरासिनीले चालु आर्थिक वर्ष २०८२/८३ को शुरुदेखि हालसम्म कुल ६ वटा ट्याक्टर नियन्त्रणमा लिइसकिएको जानकारी दिए । उनका अनुसार, अवैध उत्खनन नियन्त्रणका लागि नगर प्रहरी निरन्तर सक्रिय रहेको छ ।

यसैबीच, राजस्व शाखा प्रमुख घिमिरेले नियन्त्रणमा लिइएका तीन ट्याक्टरमध्ये लु ५ त १९ नम्बरको ट्याक्टरलाई आवश्यक प्रक्रिया पूरा गरी ५० हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको बताए । बाँकी दुईवटा ट्याक्टरबारे कारबाही प्रक्रिया जारी रहेको जनाइएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले अवैध उत्खननले वातावरणीय असन्तुलन सिर्जना गर्ने भएकाले नगरपालिका शून्य सहनशीलताका साथ अभियानमा सक्रिय रहेको स्पष्ट पारे । “हाम्रो उद्देश्य राजस्व संकलन मात्र होइन, वातावरणीय संरक्षण पनि हो । अवैध उत्खनन रोक्न हामी कडाइका साथ लागेका छौं,” उनले भने ।

नगरपालिकाले स्थानीयलाई समेत नदीजन्य पदार्थको अनधिकृत उत्खनन नगर्न र देखेमा सम्बन्धित निकायलाई जानकारी दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्