बाणगंगा नगरपालिकाः लक्ष्यभन्दा १४ प्रतिशत बढी राजस्व संकलन


पालिका पत्र

३ भाद्र २०८२, मंगलवार ०९:५४ मा प्रकाशित

बाणगंगा, ०३ भदौ । कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । नगरपालिकाले असार मसान्तसम्म विभिन्न राजस्व शीर्षकबाट जम्मा ७ करोड ९६ लाख ५४ हजार ३६५ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।

राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेका अनुसार उक्त अवधिका लागि नगरले ७ करोड रुपैयाँ मात्र संकलन गर्ने प्रक्षेपण गरेको थियो । तर, लक्ष्यभन्दा करिब ९६ लाख ५४ हजार रुपैयाँ बढी संकलन गर्न सफल भएको छ, जुन कुल प्रक्षेपणभन्दा करिब १४ प्रतिशतले बढी हो ।

राजस्व संरचनामा सबैभन्दा ठूलो हिस्सा अन्य सेवा तथा बिक्री शुल्क (१ करोड ९ लाख ५८ हजार ११६), भूमिकर र मालपोत (१ करोड ८ लाख ४८ हजार १४३), नक्सापास दस्तुर (९३ लाख ८१ हजार २९३), वहाल कर (७८ लाख ५१ हजार) र सम्पत्ति कर (६० लाख २९ हजार ६ सय) बाट आएको छ । साथै प्रशासनिक दण्ड जरिवाना, व्यवसाय कर, वहाल विटौरी कर, व्यवसाय दर्ता, सवारी साधन कर, विज्ञापन कर लगायतका शीर्षकबाट पनि उल्लेखनीय राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ ।

लेखा अधिकृत केशवराज गैरेका अनुसार विशेष गरी दहत्तर–बहत्तर शुल्क (नदीजन्य पदार्थ बिक्री) बाट मात्रै ८ करोड ७ लाख ७९ हजार ४४७ रुपैयाँ राजस्व संकलन भएको छ, जसले नगरको आन्तरिक स्रोत परिचालनमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

नगर प्रमुख चक्रपाणी अर्यालले राजस्व संकलनलाई आर्थिक स्वावलम्बन र विकास योजनाको आधारका रूपमा व्याख्या गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा पारदर्शी ढंगले खर्च गर्ने बताए । उपप्रमुख रिताकुमारी चौधरीले नगरवासीको कर योगदानलाई समृद्धि र विकासमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझ प्रभावकारी कर प्रणालीमार्फत आन्तरिक स्रोत सुदृढीकरण गर्ने आश्वासन दिइन् ।

प्रतिक्रिया दिनुहोस्