बालबालिकाको सुरक्षाका लागि चालक सचेत हुनुपर्नेमा जोड


पालिका पत्र

४ भाद्र २०८२, बुधबार २०:२३ मा प्रकाशित

बाणगंगा, ०४ भदौ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालय बसका चालक र सह–चालकलाई लक्षित गर्दै ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बुधबार नगरपालिकाको सभाहलमा इलाका प्रहरी कार्यालय पिपराको आयोजनामा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा कार्यक्रम गरिएको हो ।


कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पंकज चुदाँलीले विद्यालय बस चालक–सहचालकलाई सडक सुरक्षा, आधारभूत ट्राफिक नियम, बालबालिकाको सुरक्षासम्बन्धी जिम्मेवारीलगायत विषयमा जानकारी दिए । उनले दुर्घटना न्यूनीकरणमा चालकको सचेतताकै भूमिका निर्णायक हुने बताउँदै मापदण्ड पालना गर्न आग्रह गरे ।


बाणगंगा नगर प्रमुख चक्रपाणि अर्यालले विद्यालय बस चालक–सहचालकको जिम्मेवारी भविष्यको पुस्ताको सुरक्षासँग जोडिएको भन्दै नगरपालिकाले यस किसिमका गतिविधिलाई प्राथमिकतामा राख्ने बताए । यस्तै उपप्रमुख रिता कुमारी चौधरीले व्यवस्थापनलाई सुरक्षित बनाउन चालक–सहचालक सचेत हुनु जरुरी रहेको उल्लेख गरिन ।


यस्तै, इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले विद्यालय बसमा सुरक्षात्मक उपकरणको व्यवस्था गर्नुपर्ने र चालक–सहचालकले कुनै लापरबाही नगर्नुपर्नेमा जोड दिए ।


त्यसैगरी नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले बालबालिकाको सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि चालक–सहचालक सचेत हुनु अपरिहार्य रहेको बताए । उनले सञ्चार माध्यममार्फत पनि ट्राफिक सचेतना प्रवद्र्धन गर्न सकिने भन्दै विद्यालय–अभिभावक–प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय सञ्चालक, शिक्षक, प्रहरी अधिकारीहरूसहित विद्यालय बस चालक–सहचालकको उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्