तिलोत्तमा नगरपालिका लुम्बिनीमा पहिलो, देशभर दोस्रो


पालिका पत्र

४ भाद्र २०८२, बुधबार २०:३३ मा प्रकाशित

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशभरि पहिलो र मुलुकभरका नगरपालिकामध्ये दोस्रो स्थान हासिल गरेको छ ।

नेपाल सरकारको स्थानीय शासन क्षमता स्वमूल्यांकन प्रणाली (लिजा) अन्तर्गत योजना निर्माण, बजेट कार्यान्वयन, सेवाप्रवाह, सुशासन, पारदर्शिता र जनसहभागितासम्बन्धी सूचकाङ्कमा प्राप्त उत्कृष्ट अंकका आधारमा यो उपलब्धि हासिल गरेको हो ।

उपलब्धिप्रति खुसी व्यक्त गर्दै मेयर रामकृष्ण खाणले सम्पूर्ण तिलोत्तमावासीलाई धन्यवाद दिएका छन् । उनले भने, “यो सफलता तिलोत्तमावासी सबैको साझा गौरव हो। मुल्याङ्कनकर्ताले दिएको उच्च स्थानले हाम्रो जिम्मेवारी अझ बढेको छ, अब जनताप्रति अझ बढी जवाफदेही भएर अघि बढ्छौँ ।”

नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण, सूचना प्रविधि र सेवाप्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ । यसकै कारण तिलोत्तमा नगरपालिका निरन्तर अग्रस्थानमा रहँदै आएको मेयर खाणले बताए ।

प्रतिक्रिया दिनुहोस्