नगर प्रमुख र प्रशासकिय अधिकृतबीच कार्यसम्पादन करार, परिणाममुखी सेवा प्रवाहको प्रतिबद्धता

शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा पारदर्शी र प्रभावकारी सेवा अपेक्षा


पालिका पत्र

६ भाद्र २०८२, शुक्रबार १६:०१ मा प्रकाशित

लुम्बिनी साँस्कृतिक नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन करार सम्झौता गर्दै योजनाबद्ध कामको थालनी गरेको छ । नगर प्रमुख सजरुदिन मुसलमान र प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीबीच सम्झौता भएको छ । यस्तै प्रमुख प्रशासकिय अधिकृत ज्ञवाली र शिक्षा शाखा प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीबीच पनि छुट्टै सम्झौता गरिएको छ ।

सम्झौतापछि नगर प्रमुख मुसलमानले करार सम्झौताले कर्मचारीलाई अझ जिम्मेवार र परिणाममुखी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले सेवा प्रवाहलाई सहज, पारदर्शी र नागरिकमैत्री बनाउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।

उपप्रमुख कल्पना हरिजनले नगरपालिकाको सफलता कर्मचारीको नतिजामुखी कार्यसम्पादनमै निहित रहेको भन्दै करार सम्झौता व्यवहारमै जनताले महसुस गर्ने गरी लागु गर्नुपर्नेमा जोड दिए । उनका अनुसार समयमै लक्ष्य पुरा गरी सेवाग्राहीलाई छिटोछरितो तथा गुणस्तरीय सेवा दिन सकिनेछ ।

त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीले सम्झौताले कर्मचारीलाई अनुशासित, प्रतिबद्ध र परिणाममुखी बनाउन मद्दत गर्ने उल्लेख गरिन । उनले योजना र लक्ष्यअनुसार परिणाम दिन नगरपालिका गम्भीर रहने स्पष्ट पारिन ।

प्रतिक्रिया दिनुहोस्