
बाणगंगा, ६ भदौ ।
आर्थिक वर्ष २०८१/८२ को समग्र मूल्याङ्कनमा कपिलवस्तु जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय यस त्रैमासिकको सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको मूल्याङ्कनमा सेवाप्रवाहको गुणस्तर, समयमै कार्यक्रम कार्यान्वयन, पारदर्शिता, समन्वय तथा प्रतिवेदन व्यवस्थापनजस्ता सूचकलाई आधार मानिएको थियो । ती सबै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेपछि कार्यालयलाई उत्कृष्ट घोषित गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कार्यालय प्रमुख सन्तोष खनाललाई प्रमाणपत्र प्रदान गर्नुभयो ।
प्रमाणपत्र ग्रहणपछि कार्यालय प्रमुख खनालले सम्पूर्ण कर्मचारी, सेवाग्राही, उद्योग–व्यवसायी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भने, “यो सफलता सबैको साझा उपलब्धि हो । कर्मचारीको प्रतिबद्धता, सेवाग्राहीको विश्वास र सरोकारवालाको मार्गदर्शनकै परिणामस्वरूप यो सम्मान प्राप्त भएको हो । आगामी दिनमा अझ पारदर्शी, द्रुत र प्रभावकारी सेवा प्रवाह गर्न प्रतिबद्ध रहनेछौं ।”
घरेलु तथा साना उद्योग कार्यालयले नियमित रूपमा बजार तथा उद्योग अनुगमन, बजेट कार्यान्वयन, उद्योग–व्यवसायीलाई परामर्श तथा तालिम उपलब्ध गराउँदै आएको छ । यसक्रममा प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख कोष नियन्त्रक लगायतका निकायहरूसँगको समन्वय र सहयोग महत्वपूर्ण रहेको कार्यालयले जनाएको छ ।