“प्रशासनले दमन गरे जनता सडकमा आउँछन्” – अध्यक्ष वलिउद्दिन मुसलमान


पालिका पत्र

७ भाद्र २०८२, शनिबार १३:२६ मा प्रकाशित

कपिलवस्तु, भदौ ०७ ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–४ चाकरचौडामा स्थानीयले सशस्त्र प्रहरीमाथि गरेको आक्रमणप्रति गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले समर्थन जनाएका छन्।

अध्यक्ष मुसलमानले प्रशासनले सर्वसाधारणमाथि दमन गरे जनता प्रतिरोधमा उत्रिने बताएका छन्। उनले भने, “जब–जब प्रशासनले आम नागरिकलाई हैरान बनाउँछ, तब–तब जनता, सामाजिक अगुवा र युवाहरू आफ्नो हकहितको रक्षा गर्न सडकमा आउँछन्।”

उनले घाइते भएका व्यक्तिहरूको उपचार खर्च प्रहरीले बेहोर्नुपर्ने माग गर्दै पीडितहरूलाई छिटो स्वास्थ्यलाभको शुभकामना दिएका छन्। साथै, सीमा क्षेत्रमा भइरहेका सास्ती र ज्यादती तत्काल रोक्नुपर्ने चेतावनीसमेत दिएका छन्।

मुसलमानले प्रशासन अनुशासित नभएमा सिंगो मायादेवी गाउँपालिका आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मुसलमानले गृहमन्त्रिलाई घटनाको बिषयमा ध्यानाकर्षण गरेका छन् । गृहमन्त्रि रमेश लेखकले घटना बारे बुझेर आवश्यक कारवाहि अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेका छन् ।

विहिबार साँझ करिब ६:४० बजे स्थानीयहरूले सशस्त्र प्रहरी बिटमाथि आक्रमण गर्दा ४ जना घाइते भएका थिए। घाइतेमध्ये नेपाली कांग्रेसका बूथ इकाई सभापति लल्कु मुसलमान गम्भीर अवस्थामा छन् भने एकजनाको हात भाचिएको छ। बाँकी दुईजना सामान्य घाइते भएका छन्।

स्थानीयहरूले सीमा क्षेत्रमा यात्रुबाट अवैध असुली, मलखादमा कडाइ तथा दुव्र्यवहारमा आपत्ति जनाउँदै प्रहरीमाथि आक्रमण गरेको बताएका छन्। आक्रमणपछि प्रहरी बिटमा तोडफोडसमेत भएको छ। यसअघि पनि सो क्षेत्रमा स्थानीय र प्रहरीबीच सामान्य विवाद भएको थियो।

प्रतिक्रिया दिनुहोस्