
काठमाडौं, भदौ ०७ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) नतिजामा लुम्बिनी प्रदेशका उत्कृष्ट पालिकाहरू माओवादी केन्द्रको नेतृत्वमा रहेका गाउँपालिकाहरू भएका छन् ।
प्रदेशका ७४ गाउँपालिकामध्ये गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंकसहित लुम्बिनीमा पहिलो, पाल्पाको रिब्दिकोट गाउँपालिका ८७.५ अंकसहित दोस्रो, गुल्मीको धुर्कोट गाउँपालिका ८७.५० अंकसहित तेस्रो र दाङको राप्ती गाउँपालिका तथा रुकुमको भूमे गाउँपालिका ८७.२५ अंकसहित चौथो भएका छन् ।
यी पालिकामा क्रमशः अध्यक्ष यदु ज्ञवाली (रुरुक्षेत्र), नारायणबहादुर कार्की (रिब्दिकोट), भुपाल पोखरेल (धुर्कोट), प्रकाश विष्ट (राप्ती) र होमप्रकाश श्रेष्ठ (भूमे)को नेतृत्व रहेको छ ।
रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले पालिकाबासी, कर्मचारी र जनप्रतिनिधिहरूको सहकार्यका कारण पालिकाले यो सफलता हासिल गरेको बताए । उनले प्राप्त नतिजाले आगामी दिनमा अझ जिम्मेवारीपूर्वक काम गर्ने ऊर्जा दिएको बताए ।
देशभरका उत्कृष्ट पालिकामध्ये पनि पहिलो स्थान माओवादीकै नेतृत्वमा रहेको धादिङको बेनिघाट गाउँपालिका परेको छ । बेनिघाटले ९१.७५ अंक ल्याएर देशमै अग्रस्थान हासिल गरेको हो ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले अवसर पाउँदा माओवादी नेतृत्वले आफूलाई प्रमाणित गरेर देखाएको बताए । उनले जनमैत्री शासन, पारदर्शिता र सुशासन माओवादीको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गरेर जनताको भरोसा जित्ने प्रतिबद्धता जनाए ।