
बाणगंगा, २४ भदौ।
कपिलवस्तु वाणगंगा नगरपालिका–९ का वडा सदस्य चुरामणी अर्यालले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले जेनजी पुस्ताका युवाहरुको आन्दोलनमा सरकारको दमनका कारण ज्यान गुमाउनुपरेको घटनाप्रति आक्रोश व्यक्त गर्दै पदत्याग गरेको जनाएका हुन् ।
अर्यालले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको राजीनामा पत्रमा आन्दोलनका क्रममा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सरकारको उदासीनताप्रति गहिरो असन्तोष प्रकट गरेका छन् । वर्तमान नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा रहेको संयुक्त सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले “यस्तो सरकारको सदस्य बनेर बस्न नसक्ने” भन्दै राजीनामा दिएको उल्लेख गरेका छन् ।
उनले वडावासीप्रति दृढ प्रतिबद्धता जनाउँदै जिम्मेवारी निर्वाह गर्ने मन भए पनि प्रतिकूल परिस्थितिका कारण पद त्याग्न बाध्य भएको स्पष्ट पारेका छन् ।
यससँगै अर्यालले लामो समयदेखि सक्रिय रहेका नेपाली कांग्रेसको सदस्यताबाट समेत राजीनामा दिने निर्णय सार्वजनिक गरेका छन् । उनको राजीनामा पत्र वडा अध्यक्षलाई सम्बोधन गरी पठाइएको छ।

