बाणगंगाका दुई सहित चारजना पक्राउ


पालिका पत्र

५ आश्विन २०८२, आईतवार २०:२० मा प्रकाशित

बाणगंगा, ०५ असोज । कपिलवस्तुमा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

असोज २ गते वाणगंगा नगरपालिका–८ ढोडेकोलकी २६ वर्षीया सकुन्तला मानन्धर र वाणगंगा–७ कोईली बनगाईका ३४ वर्षीय नरबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय पिपाबाट खटिएको टोलीले मानन्धरको घर तलासी गर्दा सानो बट्टाभित्र लुकाइ राखिएको १ ग्राम २३० मिलिग्राम लागुऔषध फेला पारेको थियो । साथै, लु ४१ प ३०२५ नम्बरको स्कुटर समेत बरामद भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, असोज ४ गते कपिलवस्तु नगरपालिका–११ अदौराकोटमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले २३ वर्षीय प्रभाकर धोबी र बाणगंगा–११ बरहवाका १९ वर्षीय सागर पासीलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट क्रमशः ५३० मिलिग्राम र १ ग्राम ५७० मिलिग्राम गरी २ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको र जिल्ला अदालत कपिलवस्तुको आदेशअनुसार उनीहरूलाई थप अनुसन्धानका लागि २० दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्