आगामी निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा मतदाता नामावली संकलन सुरु


पालिका पत्र

१० आश्विन २०८२, शुक्रबार २०:५६ मा प्रकाशित

बाणगंगा, १० असोज ।
निर्वाचन आयोगको निर्देशनअनुसार कपिलवस्तुमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले शुक्रबार सार्वजनिक गरेको सूचनामा असोज ९ गतेदेखि यो प्रक्रिया सुरु भएको जनाएको छ ।

कार्यालयका अनुसार अघिल्ला चरणमा नामावलीमा दर्ता हुन छुटेकाहरूले यसपटकको अवसर गुमाउन नहुने बताइएको छ । योग्य उमेर पुगेका नागरिकलाई अनिवार्य रूपमा आफ्नो नागरिकता, बसाइँसराइ र आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गरी दर्ता वा अद्यावधिक गर्न आग्रह गरिएको छ ।

मतदान गर्ने अधिकार लोकतान्त्रिक अभ्यासको आधारभूत हक भएकोले सबै योग्य नागरिकलाई नामावलीमा दर्ता हुनुपर्नेमा कार्यालयले जोड दिएको छ । यसअन्तर्गत विशेष गरी १६ वर्ष पूरा भई १७ वर्षमा पुगेका नयाँ मतदातालाई नामावलीमा अनिवार्य रूपमा दर्ता हुन आग्रह गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अधिकारीहरूले आगामी निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक नागरिकको सक्रिय सहयोग र सहभागिता अपरिहार्य हुने बताएका छन् । समयमै दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन सबैलाई पुनः आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्