दशैं नजिकिँदै गर्दा सरसफाई अभियान तीव्र


पालिका पत्र

११ आश्विन २०८२, शनिबार १८:१६ मा प्रकाशित

बाणगंगा, ११ असोज ।
चाडपर्व आउदाँ सरसफाई गर्ने चलन नयाँ भने होईन । खास गरि नेपालिहरुको महान चाड विजयाँ दशमि नजिकीदै आउदाँ गाँउलेहरुलाई सरसफाईको चटारो नै हुन्छ । सरसफाई संगै बाटो घाटो स्तर उन्नत्ति गर्ने, खाल्डा खुल्डी पुर्ने जस्ता कामहरु पनि हुन्छन् । यसैक्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकाभित्रका विभिन्न टोल, वडागत संस्थाहरु र युवा क्लबहरुले गाउँटोल सरसफाई अभियानलाई तीव्रता दिएका छन् । नेपालीहरूको महान चाड विजयादशमी नजिकिँदै गर्दा गाउँघरमा सरसफाई गर्ने चलन पुरानै भए पनि पछिल्लो समयमा यसले सामुदायिक अभियानकै रूप लिएको छ । दशैंमा घर–आँगन मात्र नभई बाटो, घाटो, सार्वजनिक स्थल, मन्दिर र बजारक्षेत्र समेत चकाचक बनाउन गाउँलेहरू जुटेका छन् ।

यसै क्रममा बाणगंगा नगरपालिका वडा नं. ८ अन्तर्गत पुलचोक टोल विकास संस्थाले गाउँटोल सरसफाई अभियान सञ्चालन गरेको छ । संस्थाले सरसफाईसहित बाटो, नाली सफा गर्ने, खाल्डाखुल्डी पुर्ने काम गरेर गाउँलाई आकर्षक बनाएको छ । स्थानीयवासीका अनुसार यस अभियानपछि टोल पुरै चिरिच्याट देखिएको छ ।

त्यस्तै, बाणगंगा वडा नं. ७ को मोतिपुर प्रगतिशील युवा क्लबले मोतिपुर बजार टोल र गनसहवा टोलमा सरसफाई अभियान सञ्चालन गरेको छ । क्लबका अध्यक्ष शंकर न्यौपानेका अनुसार क्लबले एक सातासम्म निरन्तर सरसफाई अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । अभियानमा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको सरसफाई अभियानका संयोजक महेन्द्र कुवंरले बताए । ।

यस्तै, बाणगंगा वडा नं. १ अन्तर्गत दुर्गा मन्दिर व्यवस्थापन समिति तथा बैरीया युवा समाजले संयुक्त रूपमा मन्दिर वरपर र आसपासको क्षेत्र सफा गरेका छन् । मन्दिर वरपरको सरसफाईले चाडपर्वमा आउने भक्तजनलाई सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी, वडा नं. २ मा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको पहलमा विभिन्न वन उपभोक्ता समूहका अध्यक्ष र स्थानीयको सक्रियतामा सरसफाई सम्पन्न गरिएको छ । वडा अध्यक्ष पौडेलले सरसफाई अभियान निरन्तरता दिन सबैलाई आग्रह गरेका छन् ।

स्थानीयवासीका अनुसार चाडपर्वमा सफा वातावरणले खुशी र उत्साह थप गर्छ भने स्वास्थ्यसमेत जोगिन्छ । सरसफाई अभियानले गाउँमा एकता र सहकार्यको भावना बढाएको छ । चाडपर्वलाई स्वागत गर्न गरिएको यो अभियानले वातावरण संरक्षण र सामाजिक सद्भाव दुवैलाई सुदृढ बनाएको सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्