चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुमा मूर्तिकार व्यस्त


११ आश्विन २०८२, शनिबार १९:०८ मा प्रकाशित

कपिलवस्तु, ११ असोज । चाडपर्व नजिकिँदै गर्दा कपिलवस्तुका मूर्तिकारहरू काममा व्यस्त बनेका छन् । कपिलवस्तु नगरपालिका–१ भिक्षु टोलका मूर्तिकार सुनिल तिवारीले यस वर्ष दुर्गालगायतका ९ सेट मूर्ति तयार गरी बिक्री गरिसकेका छन् । अग्रिम बुकिङमै ती मूर्तिहरू बिक्री भएपछि उनले करिब साढे ३ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेका छन् । सात वर्षदेखि मूर्ति व्यवसायमा सक्रिय तिवारीले छोरा, श्रीमती र सहयोगीसहित दिनरात परिश्रम गरिरहेका छन् । उनका अनुसार एक मूर्तिको अर्डर २० देखि ३५ हजारसम्मको पर्छ भने खर्च कटाएर करिब डेढ लाख नाफा हुने अपेक्षा छ ।

यस्तै, कपिलवस्तु–१ नयाँ टोलका मूर्तिकार अनिल गुप्ता पनि यस व्यवसायमा व्यस्त छन् । १५ वर्षदेखि मूर्तिकला क्षेत्रमा सक्रिय गुप्ताले यसपटक १५ सेट मूर्ति तयार पारेका छन् । दुर्गा, गणेश, लक्ष्मी, कार्तिकेय, कालीलगायतका मूर्ति तयार गरेका उनले यस वर्ष ५ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् । उनका अनुसार मूर्ति बनाउन माटो, बाँस, पराल, कपडा र रंगजस्ता सामग्री प्रयोग गरिन्छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले मूर्तिकारहरूको मेहनतलाई स्थानीय सीप र संस्कृतिको जगेर्नासँगै आयआर्जनको महत्वपूर्ण अवसरका रूपमा लिएका छन् । ‘दसैँजस्ता चाडपर्वमा मूर्तिकारले गरेको योगदानले हाम्रो संस्कृति संरक्षण मात्र होइन, परिवारलाई आर्थिक आधार पनि दिन्छ,’ नगर प्रमुख पौडेलले बताए । नगरपालिकाले यस्ता सीपलाई निरन्तर प्रोत्साहन गर्ने उनको भनाइ छ ।

परम्पराअनुसार जिल्लाका विभिन्न स्थानमा घटस्थापनादेखि सप्तमीसम्म मूर्ति प्रदर्शन गर्ने र द्वादशीका दिन नदी–नालामा विसर्जन गर्ने प्रचलन रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्