इमिलिया पुलचोकमा ‘चरक आयुर्वेद फर्मा’ सञ्चालन


पालिका पत्र

१३ आश्विन २०८२, सोमबार १७:१३ मा प्रकाशित


बाणगंगा, १३ असोज ।
बुद्धभूमि नगरपालिका–९, इमिलिया पुलचोकमा ‘चरक आयुर्वेद फर्मा’ सञ्चालनमा आएको छ । शनिवार एक कार्यक्रमका बीच औपचारिक रूपमा सेवा शुभारम्भ गरिएको हो ।

उद्घाटन समारोहमा पतञ्जलि योग समितिका अध्यक्ष लोकनाथ पोख्रेलले फार्मको उद्घाटन गर्दै आयुर्वेदिक चिकित्सा पद्धति स्वास्थ्य क्षेत्रमा वैकल्पिक मात्र नभई प्रभावकारी उपचारका रूपमा स्थापित हुँदै गएको बताए । कार्यक्रममा बोल्दै बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रमोद आचार्यले स्थानीयस्तरमै आयुर्वेदिक सेवा उपलब्ध हुनु खुशीको विषय भएको उल्लेख गर्दै यसले समुदायलाई सहज हुने विश्वास व्यक्त गरे ।

उद्घाटनकै दिन बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै विभिन्न उपचार सेवामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको फार्मका सञ्चालकले जानकारी दिए । उद्घाटन अवसरमा डा. नारायण पाण्डे, डा. महेश अर्याल, डा. कृष्टीना बेल्वासे र डा. सुजन कार्की लगायतका चिकित्सकहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।

‘चरक आयुर्वेद फर्मा’ ले बवासीर, फिस्टुला, महिला रोग, पाचनसम्बन्धी समस्या, मुटु, मधुमेह, मानसिक समस्या, छालासम्बन्धी रोग लगायतका उपचार सेवा उपलब्ध गराउने जनाएको छ । यससँगै आयुर्वेदिक थेरापी, रगत परीक्षण, परामर्श सेवा र जीवनशैली व्यवस्थापनसम्बन्धी कार्यक्रम पनि सञ्चालन हुनेछन् ।

संस्थाले प्रत्येक महिनाको अन्तिम शनिबार निःशुल्क सुगर परीक्षणको व्यवस्था गर्ने र ज्येष्ठ नागरिकलाई उपचारमा विशेष छुट दिने निर्णय गरेको छ ।

आयोजकका अनुसार बुद्धभूमि क्षेत्रमा सर्वसुलभ आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउन उद्देश्यले ‘चरक आयुर्वेद फर्मा’ सञ्चालनमा ल्याइएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्