वन अधिकृत मिश्राद्धारा अवैध धन्दा, काठ सहितको ट्याक्टर समातियो


पालिका पत्र

१४ आश्विन २०८२, मंगलवार २०:१६ मा प्रकाशित

बाणगंगा, १४ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–कोठीपिपरा अन्तर्गत मायादेवी साझेदारी वनबाट अवैध काठ ओसारपसार भएको फेला परेको छ । दशैं विदाको अवसर छोपी सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्राको संलग्नतामा काठ निकासी गरिएको स्थानीयवासीले आरोप लगाएका छन् ।

स्थानीयले अवैध गतिविधि देखेपछि घेरा हाल्दै प्रहरीले नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर बुझाइएको छ । अष्टमीको दिन विहानै लु ३ त ६२९५ नम्बरको ट्याक्टरमार्फत ७ थान सालका गोलिया लैजाँदै गरेको अवस्थामा बरामद भएको हो । अन्य ७ गोलिया भने जंगलमै राखिएको बताइएको छ ।

गत आर्थिक वर्ष वैशाख महिनामा कटान गरिएका ती काठ जेष्ठ र असारमा संकलन गरी घाटगद्दीमा राखिएको भए पनि केही काठ जंगलमै छोडिएको थियो । तर दशैं विदामा चलानी तथा वन प्रवेश अनुमति विना दिन दहाडै निकासी गर्नु शंकास्पद भएको स्थानीयको आरोप छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत मदन ढुंगानाले सो लटको काठ खोजतलास गर्न निर्देशन दिइएको भए पनि निकासी हुनेबारे आफूलाई जानकारी नआएको बताए । मिश्राले समेत चलानी विना काठ ल्याउनु गल्ती भएको स्वीकार गरेका छन् । कानुनअनुसार साउनदेखि कार्तिकसम्म कटान, संकलन तथा ढुवानी गर्न प्रतिबन्धित हुन्छ ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसीले नियन्त्रणमा लिइएको काठ आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने बताए । यसअघि २०८२ जेठ ८ गते पनि मिश्राकै संलग्नतामा १४ थान काठ गायब भएको स्रोतले दाबी गरेको छ ।

यता, मिश्रामाथि सामुदायिक तथा साझेदारी वनमार्फत आर्थिक लाभ लिने, कार्ययोजना स्वीकृत गराउने नाममा रकम उठाउने, टाचाँ नवीकरणमा घुस असुल्नेलगायत आरोपहरू पनि लाग्दै आएका छन् । समितिका पदाधिकारीका अनुसार उनले काठ कटानका समयमा समेत प्रति सेफ्टी रकम असुल्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्