
कपिलवस्तु, असोज २१ । जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली सङ्कलन प्रक्रियालाई तिव्रता दिएको छ । असोज ९ गतेदेखि सुरु भएको उक्त अभियानमा दैनिक १०० देखि डेढ सय जना नागरिकले नामावली दर्ता गराइरहेको निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी निश्चल मोक्तानले जानकारी दिए ।
उनका अनुसार अघिल्ला चरणमा दर्ता हुन छुटेकाहरूका लागि यो अवसर महत्वपूर्ण रहेको जानकारी दिएका छन् । योग्य उमेर पुगेका नागरिकले अनिवार्य रूपमा आफ्नो नागरिकता, बसाइँसराइ प्रमाण र अन्य आवश्यक कागजातसहित उपस्थित भई नामावलीमा दर्ता वा अद्यावधिक गराउन सकिने कार्यालयले जनाएको छ ।
मोक्तानले मतदान गर्ने अधिकार लोकतान्त्रिक अभ्यासको आधारभूत हक भएको उल्लेख गर्दै सबै योग्य नागरिकलाई नामावलीमा अनिवार्य रूपमा दर्ता हुन आग्रह गरेका छन् । विशेष गरी १६ वर्ष पूरा भई १७ वर्षमा पुगेका नयाँ मतदातालाई यसपटक दर्ता गर्न विशेष प्राथमिकता दिइएको छ ।
आगामी निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक नागरिकको सक्रिय सहयोग र सहभागिता अपरिहार्य हुने बताउँदै निर्वाचन कार्यालयले सबैलाई समयमै दर्ता गरी लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पुनः आह्वान गरेको छ ।