
बाणगंगा, असोज २४ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरिया क्षेत्रमा अवैध रूपमा गोरु ओसारपसार गर्ने मिनी ट्रक नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको गस्ती प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३७५३ नम्बरको ६ चक्के मिनी ट्रकलाई रोकि चेकजाँच गर्दा ९ वटा गोरु फेला परेको प्रहरीले जनाएको छ । गाडी र गोरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा ल्याइएको प्रहरीले बताएको छ। तर, ट्रक चालकसहित तीन जना सवार व्यक्तिहरू प्रहरी टोली देखेपछि गाडी रोक्दै फरार भएका थिए ।
पछिल्लो विवरण अनुसार, असोज १४ गते बिहान करिब ६ः३० बजे जिल्ला कपिलवस्तुको बाणगंगा नगरपालिका–२ कोठी खोलास्थित गौशालामा ती ९ वटा गोरुलाई व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
यस्तै सोही दिन बाणगंगा नगरपालिका–४ दरखास्त चोकमा अवैध साल काठसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाणगंगाका ३९ वर्षका बासुदेव थारूले चलाएको लु ३ त ६९५ नम्बरको कम्पनीको ट्र्याक्टर चेकजाँचका क्रममा पक्राउ गरिएको हो । सो ट्र्याक्टरमा अवैध रूपमा साल जातको काठ लोड गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा जम्मा ६३.४२ क्यूफिट साल काठ बरामद गरिएको र ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । घटनासम्बन्धी आवश्यक कारबाहीका लागि बरामद ट्र्याक्टर र काठसहित चालकलाई सब–डिभिजन वन कार्यालय, पिपरा, कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
यसैबीच, ईलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुबाट खटिएको अर्को प्रहरी टोलीले लागूऔषधको शंका लाग्ने सेतो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुमा बाणगंगा वडा न. ७ का ३३ वर्षका प्रकाश थारु सोहि वडाका २८ वर्षका केशव थारु रहेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा प्रकाश थारुको साथबाट सेतो कागजमा लुकाईछिपाई राखिएको ५५० मिलिग्राम तौलको लागूऔषध बरामद गरेको हो । यस्तै, केशव थारुको साथबाट पनि सेतो कागजमा लुकाई राखिएको ४५० मिलिग्राम तौलको पदार्थ फेला परेको छ।
कुल लागूऔषधको तौल १ ग्राम ३३० मिलिग्राम रहेको बताइएको छ, जसलाई “ब्राउन सुगर” जस्तो देखिने खैरो धुलो पदार्थको रूपमा वर्णन गरिएको छ । त्यस्तै, केशव थारुको साथबाट नगद नेपाली रुपैयाँ ३,००० (तीन हजार) पनि बरामद गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस सम्बन्धमा मिति असोज १५ गते कपिलवस्तु जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।