
कपिलवस्तु, २७ असोज ।
‘सानो प्रयास, ठूलो प्रभाव’ भन्ने नाराका साथ कपिलवस्तुमा विश्व मानसिक स्वास्थ्य तथा सुख–समृद्धि सप्ताह World Mental Health & Well–Being Week अवसरमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट ३२५ पी नेपालले आयोजना गरेको उक्त कार्यक्रम आइतबार बिहान बाणगंगा–४ स्थित पञ्जाबी तड्का होटल एण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
लायन्स क्लब इन्टरनेशनल, नेपाल डिस्ट्रिक्ट ३२५ पि का डिस्ट्रिक गर्भनर बलाराम भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मानसिक स्वास्थ्य, सकारात्मक सोच र आत्म–विकासका विविध आयामहरूमा गहिरो छलफल भएको थियो ।
The Key to a Happy & Easy Life -Power of Positive Thought, Holistic Health, Mindfulness शीर्षकमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक र योग–मेडिटेशन कोच ऋषि न्यौपानेले प्रमुख वक्ता Resource Person का रूपमा मानसिक स्वास्थ्य, सकारात्मक सोच, ध्यान र समग्र जीवनशैली सुधारबारे मन्तव्य प्रस्तुत गरे ।
कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तु, लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनी, लायन्स क्लब अफ कपिलवस्तु स्टार, लायन्स क्लब अफ कृष्णनगर र लियो क्लब अफ कपिलवस्तुको संयुक्त आयोजनामा सहभागिता जनाइएको थियो । कार्यक्रममा लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नारायण पौडेल, लायन्स क्लब अफ कपिलवस्तु स्टारका अध्यक्ष सागर पोख्रेल, लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीका अध्यक्ष सरस्वती सोमै लगाएतको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो ।
लायन विष्णु प्रसाद घिमिरेले कार्यक्रम संयोजन गर्दै मानसिक स्वास्थ्यप्रति समाजमा अझै चेतना र खुलापन आवश्यक रहेको बताए । उनले सकारात्मक सोच र सन्तुलित जीवनशैलीले मात्र स्वस्थ र खुसी समाज निर्माण गर्न सकिने उल्लेख गरे ।
Keep communicating, keep spreading awareness भन्ने सन्देशसहित आयोजित कार्यक्रममा सहभागीले ध्यान, मनोबल सन्तुलन, आत्मस्वीकृति र समुदायमा मानसिक स्वास्थ्यका विषयमा निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकाले ।
कार्यक्रमले स्थानीय समुदायमा मानसिक स्वास्थ्य र समग्र जीवन सन्तुलनबारे जागरण फैलाउन महत्वपूर्ण योगदान गरेको आयोजकले जनाएको छ ।