
बाणगंगा, २९ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ अन्तर्गत मधुवन सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनका उम्मेदवार दिपक सापकोटा विजयी भएका छन् ।
सापकोटाले ४०० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनी नेकपा (एमाले)का वडा कमिटी अध्यक्ष समेत हुन् । मंगलबार सम्पन्न निर्वाचनमा सापकोटाले आफ्ना प्रतिस्पर्धी अनिता थापा, सालिकराम भुसाल र गोविन्द पौडेललाई पराजित गर्दै समूहको अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेकै विद्रोही समूहकी उम्मेदवार अनिता थापाले २३८ मत प्राप्त गरिन् । नेपाली कांग्रेसका सालिकराम भुसालले १४३ मत र जनमोर्चाका गोविन्द पौडेलले १७ मत प्राप्त गरे ।
विजयी भएपछि सापकोटाले वनको संरक्षण, सदुपयोग र पारदर्शी व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।
उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार अमर कडेल निर्वाचित भएका छन् । उनले ४३४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन अर्याल (मधु)ले ३१५ मत प्राप्त गरे ।
सचिव पदमा चार जना बीच प्रतिस्पर्धा भएको थियो । जसमा २४७ मतका साथ देवकला सुनार विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी घनश्याम पौडेलले २४६ मत, रेखा मल्लले २०२ मत र कमलकुमार न्यौपानेले ८४ मत प्राप्त गरे ।
सह–सचिवमा गिरबहादुर केसी ५९३ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी तुल्सीसाराम पौडेलले २८२ मत पाए ।
खुला महिला सदस्यतर्फ सिता थापा र केसरा भण्डारी घिमिरे विजयी भए । उनीहरूले क्रमशः ३२२ र ३०९ मत प्राप्त गरे । प्रतिस्पर्धी माया विकले १४९ मत, सिता भारतीले २६६ मत र उमकला पुनले २२३ मत प्राप्त गरे ।
लेखा समिति संयोजकमा मोहन अधिकारी ४६१ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी विष्णु अर्यालले २९८ मत पाए । लेखा समिति सदस्यमा हिम्मत न्यौपाने ४९२ मत प्राप्त गरी निर्वाचित भए ।
मधुवन सामुदायिक वन उपभोक्ता समूहका कुल १,२६४ मतदातामध्ये ८६८ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।