नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा सिंगापुर विमानस्थल पुगेका छन्। उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती विमानस्थलबाट बाहिरिँदै गर्दा ह्विलचेयरमा देखिएका छन्।उनीहरू सोमबार राति ११ बजेको उडानमा सिंगापुर गएका थिए।
जेनजी आन्दोलन क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो। उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो। सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्रमन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए। त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो। असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

