 
 बाणगंगा, कार्तिक १४ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–१० मेचकुरीस्थित स्थानीय सुलेमानको गोदाममा अनुदानको २ सय २७ बोरा डिएपी मल बरामद गरिएको छ । शुक्रबार बिहान प्रहरीले सुराकीका आधारमा छापा हानी उक्त मल बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यको निर्देशनमा, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेलको नेतृत्वमा गएको टोलीले मल बरामद गरिएको हो ।
यो घटनाले जिल्लामा अनुदानको मलको कालोबजारी व्यापक रूपमा भइरहेको पुष्टि भएको कृषकहरूले बताएका छन् । कृषि सहकारीमार्फत कृषकलाई वितरण गर्न आएको मल बढी मूल्यमा व्यापारीलाई बेच्ने गरेको पाईएकोछ ।
बिहिवार मात्रै शुद्धोधन गाउँपालिका–१, अनहराटस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर अवैधरूपमा लुकाई राखिएको अनुदानको १ सय २४ बोरा डिएपी रासायनिक मल बरामद गरेको थियो । सशस्त्र प्रहरी बल नम्बर २८ गणबाट खटिएको टोलीले फुलचन्द्र यादवको घरमा छापा मारेको सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीले बताएका छन् ।
बरामद गरिएको मल आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उपरीक्षक केसीले बताएका छन्। स्थानीय किसानहरूले मल कहाँबाट र कसरी यादवको घरमा पुग्यो भन्ने विषयमा छानबिन गर्न माग गरेका छन् ।
कृषि सामग्री कम्पनीमार्फत सहकारीले पालिकाको कोटा अनुसार मल ल्याएको बताइए पनि सहकारीहरूले किसानका नाममा आएको अनुदान मल बढी मूल्यमा बेच्ने गरेको आरोप किसानहरूले लगाएका छन् ।

 
                                        