बाणगंगा, १६ कार्तिक ।
बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले अघिल्ला निर्णयहरूको कार्यान्वयनको समीक्षा गर्दै विभिन्न नयाँ निर्णयहरू पारित गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, अघिल्ला कार्यपालिकाका निर्णयहरू सन्तोषजनक रूपमा कार्यान्वयन भएको निष्कर्ष बैठकले निकालेको छ। साथै, केही कारणले रोकिएको जग्गा कित्ता काट प्रक्रिया सोमबारदेखि पुनः सुचारु गर्ने निर्णय पनि गरिएको उनले बताए ।
नगरप्रमुख चक्रपाणी अर्यालले बैठकका निर्णयहरू नगर विकासका लागि मीलका पत्थर सावित हुने विश्वास व्यक्त गर्दै प्रशासनिक पारदर्शिता र नागरिक सेवामा सुधार ल्याउने प्रतिबद्धता जनाए । “नगरको विकास योजनाहरू जनताकै सुझाव र प्राथमिकतामा आधारित छन् । अब सेवा वितरणलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो,” उनले भने ।
त्यस्तै, उप–प्रमुख रिता कुमारी चौधरीले बैठकमा महिलामैत्री कार्यक्रम, सामाजिक सुरक्षा र स्थानीय पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । उनले महिलाको आर्थिक सशक्तिकरण र समावेशी योजना कार्यान्वयन नगरको प्रमुख एजेन्डा भएको बताइन् । बैठकमा जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।

