बाणगंगा । कृषि, पर्यटन र उद्योग तथा खेलकुद क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित १६औं कपिलवस्तु महोत्सवको तयारी सुरु भएको छ । कपिलवस्तुको ऐतिहासिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिचयलाई देश–विदेशमा प्रवद्र्धन गर्ने मूल उद्देश्यसहित १६औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२ को तयारी तीव्र पारिएको छ।
कृषि, उद्योग, पर्यटन तथा खेलकुदमा लगानी, युवाको हातमा सुनौलो बिहानी भन्ने मूल नाराका साथ मंसिर १८ गतेदेखि पुस १ गतेसम्म सञ्चालन हुने महोत्सवको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीले आन्तरिक तयारीका कामहरूलाई निरन्तरता दिँदै अब भौतिक संरचना निर्माणमा केन्द्रित हुने जनाएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोसाइटीका अध्यक्ष राजकुमार खाँणले यो महोत्सव कुनै व्यक्तिगत वा प्रतिस्पर्धात्मक स्वार्थ नभई समग्र कपिलवस्तुको पहिचान र समृद्धिको अभियान भएको स्पष्ट पारे । उनले महोत्सवको सफलताका लागि आम नागरिक, उद्योगी, व्यवसायी र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष खाँणका अनुसार महोत्सवमा शान्ति सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ। सुरक्षा निकायसँग समन्वय, सेक्युरिटी कम्पनीसँग सम्झौता, सिसिटिभी क्यामेरा र ड्रोनमार्फत निगरानी तथा स्वयम्सेवक परिचालन गरिने तयारी रहेको छ।
महोत्सवको आकर्षण र उद्देश्यबारे जानकारी दिँदै सोसाइटीका महासचिव बुद्धिबहादुर रोकाहा क्षेत्री दिनेश ले यस वर्षको महोत्सवले कपिलवस्तु जिल्लाको पहिचान, सम्भावना र अवसरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने बताए । उनले महोत्सवमा कृषि, पर्यटन र उद्योगसँग सम्बन्धित उत्पादनका स्टल तथा विविध प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम र व्यापार मेला, निःशुल्क स्वास्थ्य शिविर र एम्बुलेन्स सेवा, लागुऔषध विरुद्ध सचेतनामूलक तथा शैक्षिक कार्यक्रमहरू, मनोरञ्जनात्मक गतिविधिहरू सचालन हुने छन् ।
महासचिव क्षेत्रीले यस महोत्सवलाई व्यक्तिगत स्वार्थभन्दा बाहिर राखी सबै पक्षको सहकार्यमा भव्य र सफल रूपमा सम्पन्न गर्दै राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए ।
बाणगंगा नगरपालिका–४ जीतपुरस्थित बुद्धरंगशालामा सञ्चालन हुने १६औं कपिलवस्तु महोत्सवको तयारीको क्रममा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा आयोजक संस्था बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्षसहित कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्ष विष्णु प्रसाद न्यौपाने, युवा समाजसेवी शक्तिसिंह ठकुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य विकास बन्जाडे, कपिलवस्तु पत्रकार महासंघका पूर्व अध्यक्ष मनोज पौडेल, किरणमान बज्राजार्य लगायत जिल्लाका पत्रकारहरुको उ उपस्थिति रहेको थियो।
वेयलफेयर सोसाइटीको नेतृत्वमा हालसम्म कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी तेस्रो, पाँचौं, सातौं, नवौं, एघारौं संस्करणहरु भव्य र सभ्य रुपमा सम्पन्न भइसकेका छन् । वेयलफेयर सोसाइटीले पाँचौ पटक महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गरी सकेको अनुभवका आधारमा बुद्ध रंगशालामै छैठौ पटक १६औं संस्करणको कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजनाका लागि तयारी तीव्र पारेको हो ।

