नेकपा (एमाले) कपिलवस्तुले यहि कात्तिक २९ गते बाणगंगामा शक्ति प्रदर्शन सहित विशाल जनसभा गर्ने भएको छ । नेकपा (एमाले) बाणगंगा नगरकमिटीको आयोजनामा मंगलबार बाणगंगा नगरपालिका–४ स्थित पंजाबी तड्कामा सम्पन्न पालिका स्तरिय जनपरिचालन भेलाले आवश्यक गृहकार्य गर्दै जनसभाको तयारीमा जुटेको जनाएको छ । आजै जिल्लाको विभिन्न पालिकामा प्रदर्शन र भेलाहरू सम्पन्न भएको जिल्ला सचिव सिबी गहतराजले जानकारी दिनुभयो ।
सभाका प्रमुख अतिथि नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य डम्मर शर्माले मुलुकको राजनीतिक अभिभाकत्व नेकपा एमालेले प्रदान गर्ने ठोकुवा गर्नुभयो । उहाँले देशको सार्वभौमसत्ता र राष्टिय स्वाधिनता खलबलिन नदिन राजनीतिक अभिभारा पुरा गर्ने संकल्पका साथ जनताको माझमा पुगेको बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेपालको संवैधानिक व्यवस्था अन्त्य गर्ने, देशमा अराजकता सिर्जना गर्ने, नेपालको अस्मितालाई सिद्याउन खोज्ने विदेशी तप्काहरुका कारण देशमा यो अवस्था सिर्जना भएकाले यसको अन्त्य अब नेकपा (एमाले) बाट मात्र सम्भव रहेको नेता शर्माले बताउनुभयो । प्रदेश कमिटीका सदस्य शर्माले कपिलवस्तुमा एमाले अझै पनि मजबुत रूपमा रहेको छ भन्ने विश्वास दिलाउने समय आएको बताउनुभयो ।
मंगलबार बाणगंगा नगरपालिका–४ स्थित पंजाबी तड्का रेष्टुरेन्टमा आयोजित पालिका स्तरीय जनपरिचालन भेलामा बोल्दै उहाँले एमाले कमजोर नभई सशक्त र जिम्मेवार पार्टीको भूमिकामा शक्ति प्रदर्शन मार्फत प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जेन्जी आन्दोलनले देशको संरचना र भौतिक सम्पत्ति नष्ट गर्ने उद्देश्य नभएको तर केही अराजक तत्वहरुको घुस पैठ प्रवेशका कारण त्यसमा क्षति पुगेको दाबी गर्नुभयो ।
त्यस्तै नेकपा (एमाले) बाणगंगा नगर कमिटीका इन्चार्ज तथा प्रदेश कमिटी सदस्य चक्रपाणी अर्यालले बाणगंगामा एमाले विना कुनै पनि परिवर्तनका काम सम्भव नहुने स्थिति देखाउनुपर्ने बताउनुभयो । उहाँले एमाले कमजोर नभई शक्तिशाली संगठन भएको र यसलाई जनसमर्थनका माध्यमबाट झनै सबल बनाउनुपर्नेमा जोड दिनुभयो । देशका सबै नेता कार्यकर्ता एमालेलाई बचाउने दृढका साथ एकतावद्ध भएको बताउनुभयो । एमालेले देशको अस्मिता जोगाउँछ, राष्ट्रियताको सवालमा बलियो भयो भनेर देशी विदेशी शक्तिहरुले गरेको आक्रमणलाई परास्त गर्ने दिन आएको बताउनुभयो । जेनजीका नाममा अराजक गतविधी गर्ने गलत तत्वहरु अन्तत समाप्त भएर जाने ठोकुवा गर्दै युवाहरु समृद्धि र विकासमा सकरात्मक र जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।
भेलामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष तिलक गिरी, भूमि अधिकार मञ्च केन्द्रीय सदस्य पवित्रा नेपाली, अनेम संघ जिल्ला अध्यक्ष शान्ता पाण्डे, राष्ट्रिय जनसांस्कृतिक महासंघका जिल्ला ईन्चार्ज पूर्णचन्द्र परियार, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष रेशम जिसी लगायतले वक्ताले २९ गतेको शक्ति प्रदर्शनलाई भव्य र सफल बनाउन सबै तहका कार्यकर्ताले पूर्ण समर्पणका साथ जुट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्तिक २९ गतेको शान्तिपूर्ण प्रदर्शन वाणगंगाको मुख्य व्यापारिक केन्द्र चारनम्बर चोकमा हुने बताइएको छ । उक्त जनप्रदर्शनमा सवै पालिकाका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागीता हुने जिल्ला उपाध्यक्ष शंकर पाण्डेले जानकारी दिनुभयो ।
सोही अवसरमा एमाले नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालले आगामी कार्तिक २९ गते बाणगंगामा हुने शक्ति प्रदर्शनका लागि तीव्र तयारी भइरहेको जानकारी दिनुभयो । भेला एमाले नगर कमिटीका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, उपसचिव जगत रेग्मीको स्वागत मन्तव्य तथा सचिव चेतनारायण भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलामा एमाले प्रदेश, जिल्ला र नगर कमिटीका सदस्यहरू सहित स्थानीय नेता तथा संयौं कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

