बुद्धभूमिको सार्वजनिक सुनुवाइ सम्पन्न, नागरिकबाट फोहोर र खानेपानीबारे गुनासो


पालिका पत्र

२९ कार्तिक २०८२, शुक्रबार २०:५१ मा प्रकाशित

बुद्धभूमि, २८ कार्तिक । बुद्धभूमि नगरपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम नेपाल पत्रकार महासंघ कपिलवस्तुको आयोजनामा शुक्रबार नगरको बहुउद्देश्यीय सभाहलमा सम्पन्न भयो । कार्यक्रममा सहभागी नागरिकहरूले नगरका विकास, सेवा वितरण र सरसफाइ व्यवस्थापनसम्बन्धी आफ्ना सुझाव, सल्लाह र गुनासोहरू राखे ।

सहभागी अमन चौधरीले अर्घाखाँची चोकमा अव्यवस्थित ठेलाबस्तीका कारण दुर्घटना जोखिम बढेको र सामुदायिक वन क्षेत्रमा गरिएको डम्पिङले गाउँ दुर्गन्धित भइरहेको भन्दै समाधानको माग गरे। समाजसेवी नाथुराम न्यौपानेले स्वच्छ पिउने पानीको अभाव र फोहोर व्यवस्थापन नियमित नभएको गुनासो राखे।
स्थानीय पिताम्बर पाण्डेले नगरपालिका पारदर्शितापूर्वक काम गरिरहेको उल्लेख गर्दै विकास निर्माणमा अझ तीव्रता दिन सुझाव दिए। इन्द्रमणी पौडेलले छाडा चौपायाका कारण बढ्दै गएको दुर्घटना जोखिमबारे चिन्ता व्यक्त गरे।

नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरको भौगोलिक जटिलता तथा कानुनी सीमितताका कारण डम्पिङ साइट व्यवस्थापनमा समस्या रहेको बताए। वन ऐन तथा अन्य प्रक्रियागत बाध्यताले फोहोर व्यवस्थापन स्थल निश्चित गर्न कठिनाइ आएको बताए पनि चाँडै समाधानतर्फ अघि बढिरहेको जानकारी दिए।
श्रेष्ठले खेलमैदान निर्माण नभअनुको कारण पनि उचित स्थान उपलब्ध नहुँदा भएको बताए। खानेपानीको लामो समयदेखि रोकिएको योजना पुनः बजेट छुट्टिएर ओभरहेड ट्यांकी निर्माण सुरु हुने जानकारी गराए। छाडा चौपायाको नियन्त्रण सबैको सहकार्य बिना सम्भव नभएको पनि उनले स्पष्ट पारे।

नगरप्रमुखले टिक्कर–बुड्ढी–बिजगौरी सडकका लागि संघ र नगरको संयुक्त १९ करोड ५० लाखको बजेटमा काम सुरु हुने बताउँदै सामाजिक सञ्जालमा देखिने आधारहीन टिप्पणीले जनप्रतिनिधिको मनोबल कमजोर बनाउने उल्लेख गरे।

कार्यक्रममा सहायक प्रमुख प्रशासकीय अधिकृत नबिन खनालले चालू आर्थिक वर्षका ४ महिनामा सम्पन्न भएका गतिविधिबारे शाखागत प्रगति विवरण प्रस्तुत गरे।
सार्वजनिक सुनुवाइमा शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्दै अघि बढ्न विभिन्न सहभागीहरूले सुझाव दिए। कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दीपा महतले नागरिक प्रतिवेदन तथा सदस्य माधव बेल्वासेले बर्हिगमन प्रतिवेदन प्रस्तुत गरे। अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, संघ–संस्था र सुरक्षाकर्मीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्