बाणगंगा, २९ कार्तिक ।
कपिलवस्तुमा पहिलोपटक पर्यटन प्रवद्र्धन, स्वस्थ जीवनशैली र स्वच्छ वातावरणको सन्देशसहित ‘प्रथम बाणगंगा साइकल यात्रा–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ । बाणगंगा राइडर्स क्लब कपिलवस्तुको आयोजनामा शनिबार आयोजित साइकल यात्रामा विश्व साइकल यात्री पुष्कर शाहसहित करिब ४ सय साइकलयात्रीको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।
“स्वस्थ जीवन, स्वच्छ पर्यावरण र पर्यटन प्रवद्र्धन” भन्ने मूल नारासहित आयोजित यस यात्राले कपिलवस्तुको धार्मिक, ऐतिहासिक र प्राकृतिक गन्तव्यहरूको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । साईकल यात्रिहरुलाई विभिन्न संग सस्थाले भव्य स्वागत गरेका थिए ।
कार्यक्रमको संयुक्त रूपमा उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्री, समाजसेवी कृष्ण कुवरलगायतका अतिथिहरूले गरेका थिए ।
क्लबका अध्यक्ष विष्णु प्रसाद सापकोटाका अनुसार वायु प्रदूषण र ऊर्जा संकटको बढ्दो जोखिमलाई मध्यनजर गर्दै साइकल प्रयोगलाई प्रोत्साहन गर्ने, स्वस्थ जीवनशैलीको सन्देश फैलाउने र पर्यावरण संरक्षणतर्फ ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यस्तै, कार्यक्रम संयोजक विष्णु प्रसाद घिमिरेले साइकल यात्रामार्फत कपिलवस्तुका विभिन्न धार्मिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यहरूको परिचय गराउँदै स्थानीय पर्यटन प्रवद्र्धनमा टेवा दिन प्रयास गरिएको बताए ।
साइकल यात्राको कुल दुरी ७० किलोमिटर रहेको थियो। यात्रा बाणगंगा नगरपालिकाका ११ वटै वडाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूलाई समेटेर गरिएको हो । शनिबार बिहान ७ः३० बजे प्रारम्भ भएको यात्रा साँझ ५ः३० बजे सम्पन्न भयो ।
यात्रामा कपिलवस्तुका साथै आसपासका जिल्लाका साइकल प्रेमीहरूको सक्रिय सहभागिता थियो ।
विश्व साइकल यात्री पुष्कर शाहसँगै मुस्ताङको घरपजोङ गाउँपालिकाका अध्यक्षको पनि विशेष सहभागिता रहेको जनाइएको छ । यात्राका विभिन्न स्थानहरूमा सहभागीहरूलाई स्वागत, अभिनन्दनको व्यवस्था गरिएको थियो । त्यस्तै, स्थानीय संघ–संस्थाले खाजा, पानी, एर्नर्जी ड्रिङ्क तथा विश्राम स्थलहरू समेतको व्यवस्थापन गरेको आयोजकले जनाएको छ ।

