दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान


पालिका पत्र

१ मंसिर २०८२, आईतवार १५:४५ मा प्रकाशित

बाणगंगा, ३० कार्तिक ।
बाणगंगा नगरपालिका क्षेत्रका भित्री सडक तथा मुख्य महेन्द्र राजमार्गमा पछिल्ला दिनमा सवारी दुर्घटना बढ्न थालेपछि अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपराले जनचेतनामूलक र निवारणमुखी अभियान तीव्र बनाएको छ । पिपरा, बोडगाउँलगायत क्षेत्रका करिब ५० जना ई–रिक्सा तथा अटो रिक्सा चालकलाई एकै स्थानमा भेला गराई विस्तृत प्रशिक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।


कार्यक्रममा सहायक प्रहरी निरीक्षक विनोद शाहीले चालकहरूलाई सुरक्षित सवारी सञ्चालन, सडक अनुशासन, गति नियन्त्रण, बाटो काट्ने सही विधि तथा सिट क्षमताअनुसार मात्र यात्रु ओसारपोसार गर्नुपर्नेबारे व्यवहारिक प्रशिक्षण प्रदान गरे । साथै रातिको दृश्यता बढाउन सवारीसाधनमा रिफ्लेक्टर स्टिकर टाँस्ने कार्य पनि गरिएको उनले बताए ।


शाहीका अनुसार अत्यावश्यक अवस्थामा बाहेक मुख्य राजमार्गमा अटो रिक्सा सञ्चालन गर्दा दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले चालकहरूलाई भित्री सडक प्राथमिक रूपमा प्रयोग गर्न निर्देशन दिइएको छ । धेरै अटो चालकसँग अनुमति पत्र (लाइसेन्स) नहुनु र आधारभूत ट्राफिक ज्ञानको कमीले दुर्घटना जोखिम थपिएको प्रहरीले मूल्यांकन गरेको छ ।


जेन्जी आन्दोलनपछि उच्च तहबाट ट्राफिक चेकजाँच न्यून गर्ने निर्देशन आएपछि केही समय सडक निगरानी कमजोर भएको र त्यसको प्रत्यक्ष असर दुर्घटना संख्या बढेर देखिएको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार, दशैंअघि बाणगंगा सुरक्षित क्षेत्र मानिइरहे पनि पछिल्लो एक महिनामा छुट्टाछुट्टै दुर्घटनामा ४ जनाले ज्यान गुमाएका छन् ।


दुर्घटना नियन्त्रण क्रमानुक्रममै चुनौतीपूर्ण बन्दै गएपछि प्रहरी, सवारी चालक र सर्वसाधारण सबैले बराबरी जिम्मेवारीका साथ सुरक्षामा ध्यान दिन आवश्यक रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्