सिंहदरबारको झल्कोसहित कपिलवस्तु व्यापार मेलाः जलपरीदेखि फिस टनेलसम्म अनौठा आकर्षण


पालिका पत्र

१ मंसिर २०८२, आईतवार १६:०२ मा प्रकाशित

बाणगंगा, ३० कार्तिक ।
बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण चर्चामा आएको छ ।
आयोजकका अनुसार मेलामा सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण गरिँदैछ, जसले मेलालाई यसअघि कहिल्यै नभएको पहिचान दिलाउने विश्वास लिइएको छ । यसबाहेक, मेलामा विश्वकै अग्लो कुकुर र विश्वकै होचो कुकुर, जलपरी, फिस टनेल जस्ता मनमोहक र एलिट आकर्षणहरू पनि प्रदशन गरिने तयारी भइरहेको संरक्षक टोपनारायण बेल्वासेले जानकारी दिए ।


मेला संयोजक खिमानन्द पौडेल (कपिल) का अनुसार मेलाको मूल नारा‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ राखिएको छ । मेला प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ । मेलामा १०० रुपैयाँमै १०० रुपैयाँ बराबरको ‘गाईछाप सर्फ पाउडर’ निःशुल्क हुनेछ ।

यस्तै प्रत्येक दिन लक्की ड्रबाट एक जनालाई साइकिल उपहार र फ्री कफी, निःशुल्क स्वास्थ्य परीक्षण गरिने छ । करिब १ लाखभन्दा बढी दर्शक सहभागिता हुने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना र युवामुखी प्रदर्शन स्टलहरू रहनेछन् ।


युवालाई लक्षित गर्दै कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फुड फेस्ट तथा मनोरञ्जनात्मक गतिविधिहरू समेत रहनेछन् । मेलाले स्थानीय व्यवसाय, कृषि उत्पादन, प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा ल्याई रोजगारी र अर्थतन्त्र सुदृढ गर्ने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया दिनुहोस्