बाणगंगा, ०१ मंसिर ।
बाणगंगा नगरपालिकाले मंसिर ११ गतेदेखि मधुबनधामस्थित भागीरथी गौ संरक्षण विकास केन्द्रमा सुरु हुने प्रथम गौ संरक्षण आध्यात्मिक महोत्सवलाई भव्य र सफल बनाउन नगरवासी, सरोकारवाला तथा सबै संघ–संस्थालाई विशेष रूपमा सहयोग गर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको सोमबार बसेको बैठकले महोत्सवलाई गौ संरक्षण, धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेको प्रतिष्ठित कार्यक्रमका रूपमा लिने निर्णय गर्दै व्यापक सहभागिताका लागि सबैमा अपिल गरेको हो ।
बैठकले महोत्सवले गौ संरक्षण प्रवर्द्धन, स्थानीय पर्यटन विकास, सांस्कृतिक चेतना अभिवृद्धि तथा सामुदायिक एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेको नगर प्रवक्ता विष्णु प्रािद पौडेलले जानकारी दिए । कार्यक्रमले नगरको धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउन मद्दत गर्ने नगरपालिकाले जनाएको छ ।

त्यसबाहेक, बैठकले अघिल्लो कार्यपालिका बैठकका निर्णयहरूको कार्यान्वयन स्थिति मूल्यांकन गर्दै प्रस्तुत प्रतिवेदनअनुसार अधिकांश निर्णयहरू सन्तोषजनक रूपमा अघि बढेको निष्कर्ष निकालेको छ ।
उपभोक्ता समिति मार्फत सञ्चालनमा रहेका भौतिक पूर्वाधार योजनाहरूलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक उपभोक्ता समिति गठन गरी मंसिर मसान्तभित्र योजना सम्झौता सम्पन्न गर्न सम्बन्धित शाखालाई निर्देशन दिइएको छ ।
नगरपालिकाले सबै पक्षको सहकार्य र सक्रिय सहभागिता बिना महोत्सव प्रभावकारी हुन नसक्ने बताउँदै, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रमलाई सफल बनाउन पुनः सबैसँग सहयोग र सहभागिताको अपिल गरेको छ ।

