बाणगंगा, १ मंसिर ।
बाणगंगा–८ बोडगाउँस्थित मायादेवी रंगशालामा मंसिर ५ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ विभिन्न नयाँ र अद्वितीय आकर्षणका कारण व्यापक चर्चामा आएको छ। मेला आयोजक समितिका अनुसार यसपटकको व्यापार मेला प्रदेशमै नहीं होइन, देशभरकै फरक पहिचान बनाउन सक्षम हुने विशेष तयारी भइरहेको छ।
मेला संरक्षक टोपनारायण बेल्वासेका अनुसार मेलामा विश्वकै सबैभन्दा अग्लो कुकुर र विश्वकै सबैभन्दा होचो कुकुर प्रदर्शनको लागि ल्याइँदैछ, जसले दर्शकको मुख्य आकर्षण बटुल्ने अपेक्षा छ। त्यस्तै, जलपरी ९ःभचmबष्म० प्रदर्शन, फिस टनेल, र विभिन्न एलिट मनोरञ्जनात्मक सेटअपहरू मेलामा समावेश हुनेछन्।
मेलाको अर्को विशेषता सिंहदरबारको झल्को दिने विशेष सचिवालय निर्माण हुनु हो। आयोजकका अनुसार यस्तो संरचना यसअघि कुनै मेलामा नबनेको र यसले मेलालाई अद्वितीय पहिचान दिलाउने विश्वास लिइएको छ।
मेला संयोजक खिमानन्द पौडेल (कपिल) का अनुसार मेलाको मूल नारा “राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण” राखिएको छ। मेला प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ, जसअन्तर्गत १०० रुपैयाँमै १०० रुपैयाँ बराबरको गाईछाप सर्फ पाउडर निःशुल्क उपलब्ध गराइनेछ।
मेलामा दैनिक रूपमा लक्की ड्रबाट एक जनालाई साइकिल उपहार, फ्री कफी, तथा निःशुल्क स्वास्थ्य परीक्षण सुविधासमेत प्रदान गरिने आयोजकले जनाएको छ। करिब १ लाखभन्दा बढी दर्शक मेलामा सहभागी हुने अनुमान गरिएको छ।
प्रदर्शनीमा कृषि–उद्यम, घरेलु तथा साना उद्योग, स्थानीय उत्पादन, हस्तकला, आधुनिक प्रविधि, पर्यटन सम्भावना तथा युवामुखी स्टलहरू राखिने छन्। साथै युवा केन्द्रित कला–संस्कृति कार्यक्रम, फेसन शो, बाल उद्यान, स्थानीय परम्परागत उत्पादन प्रदर्शन, फूड फेस्ट, र विभिन्न मनोरञ्जनात्मक गतिविधि समेत समावेश गरिनेछ।
आयोजकका अनुसार मेलाले स्थानीय व्यवसाय, कृषि उत्पादन, आधुनिक प्रविधि र पर्यटन सम्भावनालाई एउटै मञ्चमा ल्याई रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रलाई सुदृढ गर्ने महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।

