कपिलवस्तु । कपिलवस्तु उद्योग व्यापार संघले आयोजना गर्न लागेको ‘प्रथम कपिलवस्तु व्यापार मेला तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी–२०८२’ को करिब ९० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ । ‘राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण’ भन्ने नारासहित मंसिर ५ गतेदेखि पुस १७ गतेसम्म सञ्चालन हुने मेला सम्बन्धी जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष तथा मेला मूल समारोह समिति संयोजक खिमानन्द पौडेल ‘कोपिल’ले विभिन्न पक्षसँगको निरन्तर छलफलबाट प्राप्त सुझावलाई समेट्दै मेलाको तयारी अघि बढाइरहेको बताउनुभयो । उहाँले यसअघि आयोजित मेलाहरूभन्दा पृथक एवं आकर्षक बनाउने लक्ष्य सहित काम भइरहेको र केही कमजोरी भए पनि पहिलो महोत्सवलाई सफल र विशिष्ट बनाइने विश्वास व्यक्त गर्नुभयो ।

मेलाका निर्देशक कृष्ण कुँवरले मेलाको मुख्य आकर्षणबारे अवगत गराउँदै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, जलपरी, फिस–टनेल, विश्वकै अग्लो र होचो कुकुर, बालउद्यानलगायत विशेष संरचनाहरू निर्माण गरिएको जानकारी दिनुभयो। साथै, मेलास्थलमा फ्रि वाइफाई, फ्रि कफी, दैनिक एकजनालाई साइकल उपहार दिने लक्की ड्र, १ सयको टिकटमा १ सय बराबरकै सरफ जस्ता सुविधा रहने बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले सञ्चार जगतका तर्फबाट मेलालाई सफल बनाउन आवश्यक सहयोग र समन्वय निरन्तर भइरहेको बताउनुभयो।
यस्तै, व्यापार संघका संरक्षक तथा सल्लाहकार हुमनाथ पौडेल, टोप नारायण बेल्वासेसहितका वक्ताहरूले मेलाले स्थानीय पर्यटन प्रवर्द्धन, उपभोक्तामुखी गतिविधिमा वृद्धि, स्थानीय उत्पादनको बजार विस्तार, कृषि क्षेत्रको व्यवसायीकरण तथा आधुनिक प्रविधिको पहुँच विस्तारमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रम भव्य रुपमा आयोजना गरिने भए पनि उद्घाटन कसले गर्ने भन्ने विषय खुलाइएको छैन। मेलामा प्रवेश शुल्क ५० र १०० रुपैयाँ निर्धारण गरिएको छ।

