बाणगंगा, २ नन्दनगरमा हुने महायज्ञको तयारी सकियो


पालिका पत्र

५ मंसिर २०८२, बिहीबार ०८:२८ मा प्रकाशित

श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले बाणगंगा नगरपालिका–२ नन्दनगरमा गर्न लागेको श्री वामनपुराण पाठपारायण तथा श्रीमद्भागवत धनधान्याचल ३१ औँ ज्ञान–महायज्ञ–२०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । यही मंसिर ५ गतेदेखि मंसिर ११ गतेसम्म सञ्चालन हुने यस महायज्ञको सम्पूर्ण तयारी सकिएको बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो

यस साताव्यापी हुने धार्मिक अनुष्ठानमा परमपूज्य श्रद्धेय लोकानन्द स्वामीको संरक्षकत्वमा दैनिक सन्ध्याकालिन महाआरती हुने महायज्ञका संयोजक रबिराज शर्मा ज्ञवालीले जानकारी दिनुभयो । साथै वचनामृत प्रवचन परमपूज्य श्रद्धेय लोकानन्द स्वामीको मुखारविन्द्युबाट हुने कार्यक्रम रहेको छ भने प्रमुख वाचकका रुपमा सुप्रसिद्ध १८ पुराण प्रवक्ता आचार्य वेदप्रकाश भट्टराई रहनु हुनेछ ।

संयोजक अनुसार महायज्ञले स्थानीयस्तरमा संस्कृत शिक्षा, धार्मिक जागरण र सामाजिक सद्भाव विस्तारमा समेत महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा सञ्चार हुने बताउनुभयो । उहाँले समुदायलाई एकताबद्ध बनाउने यस्ता कार्यक्रमहरू संस्कृतिको संरक्षण र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्वपूर्ण माध्यम भएको बताउनुभयो । पत्रकार महासंघसहित सम्पूर्ण पत्रकारिता जगतले यस्ता सकारात्मक पहललाई सदैव सहयोग र साथ दिने उहाँले बताउनुभयो ।

आयोजक संस्थाले भक्तजन तथा स्थानीयवासीहरूलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ प्राप्त गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्