कपिलवस्तु — अवैध लागूऔषध ओसारप्रसार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिकले प्रहरी हिरासत कक्षको शौचालयमा आत्महत्या गरेका छन् ।

१९ दिनदेखि हिरासतमा रहेका भारतको सिद्धार्थनगर जिल्लास्थित दुनेथा दमन बस्ने ३९ वर्षका विनोदकुमार निसादले गए राति सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा आत्महत्या गरेका हुन् ।
गए राति करिब १ बजेतिर शौचालय गएका निसाद लामो समयसम्म नफर्केपछि सँगै सुतेकाले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा उनी झुन्डिएको अवस्थामा पाइएका थिए । प्रहरीले भने यो घटनालाई बाहिर ल्याएको छैन । अनावश्यक झमेला र तनाव हुने भन्दै घटनालाई गुपचुप राखेका छन् ।
घटना भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । उनी कार्तिक १४ गते राति ८ बजेतिर भारतबाट ठूलो परिणाममा अवैध लागूऔषध खेरो हिरोइन ७९ दशमलव ६४ ग्राम लिएर आउँदा पक्राउ परेका थिए ।

