कपिलवस्तु व्यापार मेलामा शनिबार गायक श्याम राना र गायिका अस्मिता डल्लाकोटी आउने


पालिका पत्र

६ मंसिर २०८२, शुक्रबार १९:४६ मा प्रकाशित

बाणगंगा, ०५ मंसिर । बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ अन्तर्गत मंसिर ६ गते शनिबारका लागि विशेष आकर्षण सहितको कार्यक्रम सार्वजनिक गरिएको छ।

मेला आयोजक उद्योग व्यापार संघ, कपिलवस्तुका अनुसार शनिबारको प्रमुख प्रस्तुति लोकप्रिय गायक–गायिकाहरू, हास्यकलाकार, डान्स स्टार तथा सांस्कृतिक झाँकी रहनेछ । कार्यक्रममा गायक श्याम राना, गायिका अस्मिता डल्लाकोटी, गायिका सम्झना राणापाल तथा चर्चित हास्यकलाकार विष्णु जि पाण्डे (माईलाबा)ले प्रस्तुति दिनेछन्।

मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ। जसका लागि पर्यटन प्रवर्द्धन र स्वस्थ जीवनशैली प्रोत्साहनका लागि साइकल स्ट्यान्ड व्यवस्था गरिएको आयोजकले जनाएको छ।

उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्