घरेलु तथा साना उद्योग कार्यालयद्वारा कपिलवस्तुमा उत्पादनमूलक तालिम सञ्चालन


पालिका पत्र

७ मंसिर २०८२, शनिबार ०९:५९ मा प्रकाशित


बाणगंगा, ।
बाणगंगा नगरपालिका–८ मा ३५० घण्टे घरेलु कपडा उत्पादनसम्बन्धी सीप विकास तालिम आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ। “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार” भन्ने उद्देश्यसहित आयोजना गरिएको यो तालिम २०८२ मंसिर ४ गतेदेखि २०८२ माघ ९ गतेसम्म सञ्चालन हुने तयारी गरिएको हो।


उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगर उप–प्रमुख रिता कुमारी थारुले तालिमले स्थानीय महिलालाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्। उनले स्थानीय स्तरमै उद्यमशीलता विकास गर्न र उत्पादनमूलक रोजगार सिर्जना गर्न यस्ता तालिम अपरिहार्य रहेको बताइन्।


कार्यक्रमका अध्यक्ष तथा घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख सन्तोष खनालले सीप सिकेर महिलाहरूले आफ्नो जीवनस्तर तथा आम्दानी वृद्धि गर्न सक्ने भन्दै तालिमलाई प्रभावकारी रूपमा अघि बढाइने जानकारी दिए। उनले सीप विकासका कार्यक्रमहरूलाई ग्रामीण क्षेत्रसम्म विस्तार गर्न कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरे।


सिन्चाइ तथा जलस्रोत आयोजनाका लेखा अधिकृत पोस्टराज ज्ञवालीले सहभागीहरूलाई उपलब्ध सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै, उत्पादन र विपणन दुवै पक्षमा राज्यका विभिन्न कार्यक्रममार्फत सहयोग उपलब्ध हुने बताए। उनले सीप सिकेर घरमै बस्दा बस्दै आम्दानी गर्न सकिने भएकाले तालिमको महत्त्व अझ बढेको बताए।


तालिमका प्रशिक्षक लिक्ष्मी सारु मगरले सहभागीहरूलाई आधारभूत देखि उन्नत स्तरसम्मका कपडा उत्पादन सम्बन्धी सीप, कटिङ–सिलाइ, मेसिन सञ्चालन, डिजाइनिङ र बजार व्यवस्थापनका व्यावहारिक पाठहरू दिइने जानकारी दिइन्। उनले तालिमले महिलाको आत्मविश्वास वृद्धि गर्ने र उद्यमशीलता तर्फ प्रोत्साहन गर्ने बताइन्।


घरैलु तथा साना उद्योग कार्यालय, कपिलवस्तुको आयोजनामा भइरहेको यस तालिममा स्थानीय महिलासहित विभिन्न उमेर समूहका सहभागिहरू सक्रिय रूपमा सहभागी भएका छन्। तालिमले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न, घरेलु उद्योग विस्तार गर्न तथा रोजगारी सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


उद्घाटन सत्रमा घरेलु तथा साना उद्योग कार्यालय तौलिहवाका अधिकृत बिष्णुप्रसाद पोख्रेलको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रमको सञ्चालन उद्यम विकास संयोजक विनय पुडासैनीले गरेका थिए।


आयोजकका अनुसार तालिम सफलतापूर्वक सम्पन्न भएपछि सहभागीहरूलाई व्यवसायिक परामर्श, उत्पादन प्रवर्द्धन तथा आवश्यक सहजीकरणसमेत उपलब्ध गराइनेछ। यस तालिममार्फत आत्मरोजगार विकास, स्थानीय उद्योग विस्तार र आर्थिक सबलीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्