“सफा पानी, सफा बानी–सहयोग पुर्याउने भूपू सैनिक खानेपानी” भन्ने मूल नारासहित बाणगंगा–गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११औं वार्षिक साधारण सभा शुक्रबार बाणगंगा–४ ठाकुरापुरमा भव्य रूपमा सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरप्रमुख चक्रपाणी अर्यालले नगरमा खानेपानीका पर्याप्त स्रोत भए पनि अबको मुख्य प्राथमिकता वितरण प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउने रहेको बताए। उनले मानव जीवन पानीमै निर्भर हुने उल्लेख गर्दै बाणगंगामा हाल ५७% घरधुरीमा शुद्ध खानेपानी पुगेको र आगामी दुई वर्षमा ७०% पुर्याउने लक्ष्य रहेको जानकारी दिए।
खानेपानी तथा सरसफाई महासंघका केन्द्रीय सदस्य विश्व कार्कीले समितिको पारदर्शिता र दायित्वबोधकै कारण यस संस्थाले उत्कृष्टता कायम गरेको बताए।
त्यसैगरी खानेपानी डिभिजन कार्यालय तौलिहवाका प्रमुख आवेद हुसेन मियाले समितिको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आवश्यक प्रविधिक सहयोग सदैव उपलब्ध गराउने प्रतिबद्धता जनाए।
कार्यक्रममा समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले उपभोक्ताको निरन्तर विश्वासका कारण संस्थाको सेवा प्रभावकारी बन्दै गएको उल्लेख गर्दै, खानेपानी सेवा विस्तारलाई अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए।
साधारण सभामा वार्षिक प्रगति, आर्थिक अवस्था, लेखा प्रतिवेदन, पानी सुरक्षा तथा अनुगमन–मूल्यांकन प्रतिवेदन प्रस्तुत गरिए। प्रस्तुत प्रतिवेदनहरूले पछिल्ला वर्षहरूमा सुरक्षित पानी वितरण, संरचना विस्तार र स्रोत संरक्षणमा उल्लेखनीय प्रगति भएको देखाएका थिए।
वक्ताहरूले भूपू सैनिक खानेपानी समितिद्वारा समुदायमा प्रदान गरिएको उदाहरणीय सेवाको प्रशंसा गर्दै बाणगंगाका सबै वडामा शुद्ध खानेपानी विस्तार गर्न सुझाव दिए।
अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत तथा सचिव कृष्ण बहादुर शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

