१६ औं कपिलवस्तु महोत्सवः जानकी मन्दिरको आकारमा मुल प्रवेशद्धार बनाईदै


पालिका पत्र

८ मंसिर २०८२, आईतवार २२:२९ मा प्रकाशित

कपिलवस्तु, ०७ मंसिर ।
१६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ मा आकर्षकको रुपमा जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार निर्माण गरिने भएको छ ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा मुल प्रवेशद्धार जानकी मन्दिरको झल्को दिने खालको निर्माण सुरु गरिएको गेट, मञ्च, स्टल, स्थल, सचिवालय निर्माण व्यबस्थापन संयोजक रबिन मल्लले जानकारी दिनुभयो ।

यता १६ औं कपिलवस्तु महोत्सव सफलतापुर्वक सम्पन्न गर्नका लागि आ आफ्नो स्थानबाट सहयोग गर्ने व्यवसायीले प्रतिवद्धता जनाएका छन् ।
आयोजक बाणगंगा वेलफेयर सोसाईटी र यस क्षेत्रका होटल तथा पर्यटन व्यवसायी, हार्डवेयर व्यवसायी, फेन्सी व्यवसायी लगायत विभिन्न व्यवसायीसंगको बैठकमा उक्त प्रतिवद्धता जनाइएको हो ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ । महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताउनुभयो । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको खाँणले बताउनुभयो ।

कपिलवस्तु जिल्लालाई विशिष्ठ पहिचान दिलाउन सफल र वि.सं. २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा (दिनेश) ले बताउनुभयो ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १८ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा विगतका वर्षमा भएका महोत्सवहरु हुने गरेको कारोबारबाट व्यपारीहरु सन्तोष रहेको र दर्शक संख्या पनि उच्च रहेकाले दर्शकले निरन्तरता पाउने आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्