१४ औं डान्स आइडलको अडिसन सुरु, पहिलो चरणबाट १३ नृत्यकर्मी छनोट


पालिका पत्र

८ मंसिर २०८२, आईतवार २२:३३ मा प्रकाशित

बाणगंगा, ०७ मंसिर ।
१६ औं कपिलवस्तु महोत्सव महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को आकर्षण १४ औं कपिलवस्तु डान्स आईडलको अडिसन सुरु भएको छ । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा कपिलवस्तु जिल्लासँगै छिमेकी जिल्लाको कृषि, पर्यटन र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मंसिर १८ गतेदेखि पुस १ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा आयोजना हुन लागेको १६ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा नृत्यकर्मीको प्रतिभा प्रस्तुत तथा हौसला बढाउने उद्देश्यले निरन्तर रुपमा आयोजना गरिदै आएको १४ औं कपिलवस्तु डान्स आईडलमा शनिवारबाट अडिसन सुरु गरिएको डान्स आईडल संयोजक पदम सेनले बताए । प्रथम अडिसनबाट १३ जना नृत्यकर्मी छनौट भएका छन् ।

महोत्सवको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवमा राखिने स्टलहरूको निर्माण तथा मञ्च निर्माण कार्य दुर्त गतिमा भएको छ । महोत्सव मूल समारोह समितिका संयोजक राजकुमार खाँणले महोत्सवमा ३०० स्टल रहने र मेलालाई समावेशी र विविधतापूर्ण बनाउने लक्ष्य लिएको बताए । जसमध्ये २ सय व्यवसायिक स्टल, कृषि स्टलहरु ५०, स्थानीय संघ संस्थाका लागि २० वटा स्टल छुट्याइएको छ भने स्थानीय उत्पादन प्रवदन महिला उद्धमीलाई ३० स्टल छुट्याइएको छ । होटेल खाजा नास्ता २० र अटो तथा आधुनिक कृषि ओैजार प्रदर्शनी १० वटा स्टल छुट्याइएको खाँणले बताए ।

कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि. सं. २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १६ वर्ष पूरा गरेको छ । १६ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहा दिनेशले बताए ।


तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको समग्र विकासमा दरिलो पहिचान बनाएका छन् । मंसिर १८ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा विगतका वर्षमा भएका महोत्सवहरु हुने गरेको कारोबारबाट व्यपारीहरु सन्तोष रहेको र दर्शक संख्या पनि उच्च रहेकाले दर्शकले निरन्तरता पाउने आर्थिक तथा लेखा व्यवस्थापन समितिका संयोजक मोहन पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्