बाणगगा, ०७ मंसिर ।
बाणगंगा नगरपालिका–८ स्थित मायादेवी रंगशालामा जारी प्रथम कपिलवस्तु व्यापार मेला एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी अन्तर्गत दोस्रो दिन ५ हजार भन्दा धेरै दर्शकले अबलोकन गरेका छन् । मंसिर ७ गते आईतबार लोकप्रिय गायक पुस्कल शर्मा, भोजपुरी मोडल प्रिती पाशवान गायक मधु परियार, गायिका कुसुम परियार लगायतका कलाकारहरुले दर्शकलाई रमाईलो गराएका थिए ।
पुस्कल शर्माको प्रस्तुतीमा केही दर्शकका आँखा रसाएका थिए । यता भोजपुरी मोडल प्रिती पाशवानले नचाएकी थिईन् । मेलामा सोमबार मेलाको मुख्य आकर्षणमा लोकप्रिय गायक विष्णु खत्रि, बसन्त लम्साल, भोजपुरी गायक कपिलदेव धवल बर्षा लम्साल लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक संकर भाट क्षेत्रीले बताए ।
मेलामा सिंहदरबारको झल्को दिने सचिवालय, जलपरी शो र फिस टनेल विशेष आकर्षणका रूपमा राखिएको छ । हरेक दिन रु. १०० को टिकट खरीद गर्ने दर्शकहरूलाई बीचमा लक्की ड्र मार्फत उपहार जित्ने अवसर पनि प्रदान गरिएको छ ।
उद्योग व्यापार संघ कपिलवस्तुका अनुसार मंसिर ५ देखि १७ गतेसम्म चल्ने यो व्यापार मेलाले स्थानीय उत्पादन, कृषि, पर्यटन, उद्योग तथा सांस्कृतिक पहिचानलाई एकै मञ्चमा ल्याई कपिलवस्तुको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।

